विराटनगर । मेची राजमार्गको इलाम खण्डको अत्यधिक जीर्ण अवस्थाले कोशी प्रदेशको आर्थिक गतिविधिमा धक्का लागेको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ, कोशी प्रदेशले सडकको तत्काल स्तरोन्नति गर्न सरकारसँग माग गरेको छ।
महासङ्घका अध्यक्ष राजेन्द्र राउतले जारी गरेको विज्ञप्तिमा सडकको दुरावस्थाले ढुवानी लागत असाधारण रूपमा बढाएको छ। यसले उद्योग–व्यवसायमा प्रत्यक्ष असर पारेको छ। पर्यटक आगमनमा समेत उल्लेख्य कमी आएको छ।
इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने यो सडक कोशी प्रदेशको व्यापार, पर्यटन, कृषि तथा समग्र आर्थिक गतिविधिका लागि लाइफलाइन हो। पूर्वी पहाडी क्षेत्रका मुख्य कृषि उपजहरू चिया, अलैँची, अदुवा, दूध, फलफूल तथा तरकारी समयमै बजारसम्म पुर्याउन नसक्दा कृषक र व्यवसायी ठूलो आर्थिक क्षतिमा छन्।
सडक सुधारका लागि लामो समयदेखि प्रतिबद्धता दोहोरिए पनि अपेक्षित प्रगति भएको छैन। यसले निजी क्षेत्र, कृषक र आम नागरिकमा निराशा छाएको छ।
महासङ्घ कोशी प्रदेशले मेची राजमार्गसहित इलाम–पाँचथर–ताप्लेजुङ सडक सञ्जालको निर्माण तथा स्तरोन्नतिलाई उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गरेको छ। आवश्यक बजेट, स्रोत–साधन र जनशक्ति परिचालन गरी युद्धस्तरमा काम अघि बढाउन महासङ्घले जोडदार माग गरेको छ।
