नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल असर पार्ने सरकारी निर्णय तत्काल सच्याउन माग गरेका छन्। शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्थानीय संवेदनशीलता र मौलिकतालाई बेवास्ता गरी गरिएका निर्णयले दीर्घकालीन संकट निम्त्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।
पशुपति क्षेत्रका जात्रा, पर्व र ऐतिहासिक बस्तीको विशिष्ट महत्व छ। थापाले सिंहदरबारबाट गरिने निर्णयले यहाँको संवेदनशीलतालाई सम्बोधन गर्न नसकेको बताए। पशुपति क्षेत्रमा कार्यरत जनशक्तिलाई श्रेणीविहीन बनाउने सरकारी निर्णयले ती परिवारले परम्परा धान्न नसक्ने र सांस्कृतिक विरासत समाप्त हुने चिन्ता उनले व्यक्त गरे।
लोकतन्त्रमा सरकारले निर्णयलाई प्रतिष्ठाको विषय बनाउन नहुने तर्क गर्दै थापाले स्थानीय बासिन्दासँगका सम्झौता कार्यान्वयन नगरी बस्ती खाली गराउनु न्यायसंगत नभएको टिप्पणी गरे। साना समस्याले भविष्यमा ‘भुसको आगो’ जस्तै द्वन्द्व फैलाउन सक्ने चेतावनी दिँदै उनले मन्त्रालयलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गरे।
काठमाडौं महानगरपालिका–८ ले आयोजना गरेको सम्मान कार्यक्रममा थापाले नागरिकले सरकारका निर्णयमा प्रश्न उठाए त्यसलाई बदल्ने कार्यलाई ‘इगो’को विषय बनाउन नहुने बताए। पशुपतिछेउछाउका बस्ती हटाउने विषयमा सरकारले पुनर्विचार गर्नुपर्नेमा उनले जोड दिए। स्थानीय कला, संस्कृति र परम्पराको संवेदनशीलता नबुझी हठातमा लिइएको निर्णयले व्यक्तिलाई मात्र नभई जात्रा, पर्व, संस्कृति र परम्परा सबैमा असर पार्ने उनको भनाइ थियो।
