मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी १४ जना नेपाली सम्पर्कविहीन भएका छन्। दुई जनाको मृत्यु भएको छ।
विदेशी आरोहणको तयारीमा खटिएको नेपाली टोली आइतबार राति १:३० बजे हिमपहिरोमा परेको हो। उनीहरू बसेको क्याम्पमा हिमपहिरोले क्षति पुर्याएको थियो। मृत्यु भएका दुई जनाको पहिचान खुलेको छैन।
समुन्द्री सतहदेखि ५ हजार मिटर उचाइमा हिमपहिरो गएको थियो। विदेशी आरोहणका लागि दुई समूहमा २७ जना नेपाली सहयोगी पुगेका थिए। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
२७ जनामध्ये १४ जना सम्पर्कविहीन छन्। दुई जनाको मृत्यु भएको छ। हराएका व्यक्तिको खोजी र उद्धारका लागि हेलिकप्टर पठाइएको छ।
आरोहण टोलीले व्यवस्थापन सकेर शनिबार फर्कने तयारी थियो। मौसम अनुकूल नभएपछि उनीहरू रोकिएका थिए। आइतबार फर्कने तयारी गर्दा हिमपहिरो गएको हो।
हिमालयन होलिडेजका २१ जनामध्ये १२ जना सम्पर्कविहीन छन्। सोही समूहका २ जनाको ज्यान गएको छ। इमेजिन नेपालका ६ जनामध्ये २ जना हराएका छन्।
हिमालयनका ७ र इमेजिन नेपालका ४ गरी ११ जना सकुशल फर्किएका छन्। उनीहरू बिहान ७ बजे घटनास्थलबाट हिँडेर बेलुकी ७ बजे वडा कार्यालयमा आइपुगेका थिए।
