राष्ट्रिय सभाको संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुर जिल्लाको सीमा विवादको दीर्घकालीन समाधानका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको छ। जेठ २५ गते बसेको समितिको बैठकले स्थानीय जनता, प्रशासन र सरोकारवाला निकायबीच गहन छलफल गरी दिगो समाधान सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुर जिल्लाको सीमा क्षेत्रमा पर्ने लाम्पाटा च्यौडाँ (रानीसैन) मा उत्पन्न सीमा विवाद हाल सामान्य अवस्थामा फर्किएको जानकारी गराए। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विवादित क्षेत्रको सुरक्षा अवस्थाबारे समिति सदस्यहरूलाई जानकारी दिँदै अस्थायी संयुक्त सुरक्षा बेस स्थापनाको तयारी भइरहेको बताए। उनले नेपाल प्रहरीले दोषीहरूमाथि कारबाही प्रक्रियालाई तीव्रता दिएको पनि उल्लेख गरे।
समितिका सदस्यहरू नारायण दत्त मिश्र, रोशनी मेचे, श्रीकृष्ण प्रसाद अधिकारी, सोनम गल्जेन शेर्पा, किरण बाबु श्रेष्ठ र धर्मेन्द्र पासवानले सीमा विवादको द्रुत र दिगो समाधान खोज्न सरकारलाई सुझाव दिएका थिए। यसअघि हिमाली गाउँपालिका-३ (बाजुर) र खर्पुनाथ गाउँपालिका-२ (हुम्ला) का स्थानीय बासिन्दाबीच लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माण गर्ने विषयमा विवाद हुँदा केही व्यक्ति घाइते भएका थिए।
