NM Khabar 7 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कञ्चनपुर बाढी: चौधर नदीको झोलुङ्गे पुल ढल्यो, पक्की पुल र वनवासा ब्यारेज जोखिममा

कञ्चनपुरको बेदकोट नगरपालिकामा अविरल वर्षाका कारण चौधर नदीको झोलुङ्गे पुल बाढीले बगाएको छ। पुल नजिकै रहेको पक्की पुलसमेत नदी कटानका कारण उच्च जोखिममा परेको छ। महाकाली नदीमा पानीको बहाव बढेपछि भारतले वनवासास्थित शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाएको छ।
Kamala Devi
Kamala Devi
7 September 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
कञ्चनपुर बाढी
Share:

कञ्चनपुरको चौधर नदीमा आएको बाढीले बेदकोट नगरपालिका–३ र ४ जोड्ने झोलुङ्गे पुल बगाएको छ। रातिदेखिको अविरल वर्षाले नदी कटान तीव्र पारेपछि पुल ढलेको हो।

नदी कटानले पुल आसपासका संरचनामा क्षति पुर्याउँदा झोलुङ्गे पुल खसेको बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले जानकारी दिए। नदी कटानका कारण सोही स्थानमा रहेको पक्की पुलसमेत उच्च जोखिममा परेको छ।

पालिकाभित्रका अधिकांश खेतबारी डुबानमा परेका छन्। नदी तथा खोलानालामा पानीको सतह बढिरहेकाले नगरपालिकाले नगर प्रहरी र वडाध्यक्षहरूमार्फत तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बेदकोट–४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले पुल पहिलेदेखि नै जोखिममा रहेको बताए। गत वैशाखमा नगर कार्यपालिका बैठकमा मर्मतको कुरा उठाए पनि वडाको बजेटले सम्भव नभएकाले नगरपालिकालाई गुहारिरहेकै अवस्थामा बाढीले संरचना ढलाएको उनले बताए।

महाकाली नदीमा पानीको सतह बढेपछि भारतले नेपाल–भारत सीमा जोड्ने वनवासास्थित शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख जीवन गुरुङका अनुसार शनिबार साँझ ५ बजेको जलमापन अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ। महाकालीमा बहाव १ लाख क्युसेक नाघ्नासाथ भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै चारपाङ्ग्रे गाडी सञ्चालनमा रोक लगाउने गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले जिल्लाका बेदकोट, भीमदत्त र दोधारा चाँदनी नगरपालिका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको सूचना जारी गरेको छ। महाशाखाले नदी आसपासका क्षेत्रमा निगरानी बढाउन, तटीय समुदायलाई पूर्वसूचना दिन र आवश्यक पूर्वतयारीमा जुट्न सरोकारवाला निकायलाई आग्रह गरेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार