कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण विवरण प्रदेशसभामा पेस गरेका छन्। सर्वेक्षण अनुसार, २०८२/८३ मा नेपालको कुल ग्राहस्थ उत्पादन रु ६६ खर्ब १० अर्ब रहने अनुमान छ। यसमध्ये कोशी प्रदेशको अंश १५.८ प्रतिशत अर्थात् रु १० खर्ब ४३ अर्ब १२ करोड रहने प्रक्षेपण छ।
आर्थिक वर्ष २०८१/८२ मा २.७२ प्रतिशत रहेको कोशी प्रदेशको आर्थिक वृद्धिदर आगामी आर्थिक वर्षमा बढेर ३.१३ प्रतिशत पुग्ने अनुमान छ। चालु आर्थिक वर्षको प्रादेशिक कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३२.५ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ६७.५ प्रतिशत रहने अनुमान छ।
राष्ट्रिय प्रतिव्यक्ति ग्राहस्थ उत्पादन एक हजार ५१३ अमेरिकी डलर रहने अनुमान गरिएकामा कोशी प्रदेशको प्रतिव्यक्ति ग्राहस्थ उत्पादन एक हजार ४१० अमेरिकी डलर रहने प्रक्षेपण छ।
प्रदेशसभाको विशेष समयमा नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेयाङ्बोले नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी हतियारसहित प्रवेश गरेको घटनाको सन्दर्भमा स्थानीय जनताले उनीहरूलाई धपाएको कार्यको प्रशंसा गरे। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट गणेशप्रसाद उप्रेतीले आगामी बजेट समावेशी र पारदर्शी हुनुपर्नेमा जोड दिए।
आकस्मिक समयमा पूर्वमुख्यमन्त्री केदार कार्कीले विराटनगर महानगरपालिकाको बखरीस्थित सम्पत्र बस्तीको विषयमा उठेको असहमति जनाए। उनले कृृषिदेव समुदायका लागि बनाइएको उक्त बस्तीमा कुनै आर्थिक चलखेल नभएको र त्यहाँका बासिन्दा अहिले जग्गाधनी भइसकेको स्पष्ट पारे।
शून्य समयमा प्रदेशसभा सदस्य जीवन आचार्य, गीतादेवी रेग्मी, गोम्बू शेर्पा र शीला दीक्षित कार्कीले प्रदेशका विभिन्न पक्षमा सरकारको ध्यानाकर्षण गराएका थिए।
कोशी प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपराह्न ४ बजे बस्नेछ।
