बर्दिबास क्षेत्रका पानीका मूल दुई दशकयता सुकेपछि स्थानीयवासी खानेपानी र सिँचाइको चरम सङ्कटमा छन्। बर्दिबास-१ का ७५ वर्षीय भक्त भण्डारीका अनुसार सिरानको पानीखोल्सीको जरुवा सुकेको छ। दाहाल्नी खोल्सीको अवस्था पनि उस्तै छ।
छिमेकको भङ्गाहा-४ पलारको जोकाहा भूल जरुवा मासिएको छ। एक समयमा यो मुहानको पानीले खेत सिँचाइ हुन्थ्यो। यस क्षेत्रका खेत धान उत्पादनका लागि प्रख्यात थिए। अहिले मुहान पुरिएर पानीको नामोनिशान छैन। विजलपुरा जुडी टोलका ८० वर्षीय प्रमोदकुमार सिंहका अनुसार दुई दशकअघि सिँचाइ हुने जग्गा अहिले बाँझो बनेको छ।
महोत्तरीका पानीका जरुवा सुक्दा जनजीवन प्रभावित भएको छ। बर्सेनि पानीको सङ्कट बढ्दो छ। गर्मी याममा रातु, मरहा र बाँके नदीका खोल्सीबाट झर्ने पानीका मुहानसमेत सुकेका छन्। बर्दिबास, गौशाला र भङ्गाहा नगरक्षेत्रका इनार र चापाकल धमाधम सुक्दै गएपछि कैयौँ बस्तीमा पानीको हाहाकार मच्चिएको छ।
बर्दिबास-७ मनहरिपुरका ३४ वर्षीय नीरबहादुर खत्रीले इनारमा पानी देखिन छाडेको बताए। पानीबिना छटपटिने दिन आउन लागेको उनको गुनासो छ। गर्मीयाममा पानीको हाहाकार भोग्नु नियति बनेको छ।
चुरे पहाडको फेदी र वनजङ्गल नजिक भए पनि यस भेगमा पानीको सङ्कट बढी छ। चुरे र यसका शृङ्खलाबाट निस्कने खोल्साखोल्सी व्यवस्थित नगरिँदा बर्सेनि गेगर थुप्रिएर पानीका मुहान पुरिने गरेका छन्। उत्तरी क्षेत्रको माटो बालुवा र गेगर मिसिएको हुँदा गर्मी याममा जग्गा चाँडै सुक्ने र मुहान सुक्ने समस्या बढेको चुरे तथा जलाधारविज्ञ डा विजयकुमार सिंहले बताए।
चुरे क्षेत्रका जलाधारमा बलौटे गेगर थुपरिनु, वनजङ्गल पातलिँदै जानु र अनियन्त्रित उत्खननले पानीको सतह गहिरिँदै गएको छ। डा सिंहका अनुसार जलाधार क्षेत्रको संरक्षण नहुनु र पुनर्भरण पोखरी बनाउनेतर्फ ध्यान नपुग्दा पानीको सङ्कट बढेको छ। असन्तुलित वर्षा र खडेरीजस्ता विपद् पनि यसका प्रमुख कारण हुन्।
चुरे, जलाधार तथा वातावरणविज्ञ डा नागेन्द्रप्रसाद यादवले मधेसको जीवनसँग जोडिएको चुरे संरक्षणमा पर्याप्त ध्यान नपुगेको बताए। यसमा तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक छ। चुरे संरक्षणमा ध्यान नदिए तल्लो भेगका जग्गा मरुभूमि बन्ने खतरा रहेको उनले चेतावनी दिए।
बर्दिबास र गौशालामा खानेपानीका लागि जरुवा, चापाकल र इनार मुख्य स्रोत हुन्। विगत दुई दशकदेखि गर्मी याममा खानेपानीको सङ्कट पर्दै आएको छ। भङ्गाहा नगरपालिकाका तीन वडाका १२ भन्दा बढी बस्तीमा १२ वटा इनार र चापाकल खानेपानीका मुख्य स्रोत हुन्। यसपालि हिउँदे वर्षा नहुँदा अधिकांश इनार र चापाकल सुकेको भङ्गाहा-४ का ६५ वर्षीय हरिदेव साहले बताए।
पानीको सङ्कटले मानिस मात्र नभई घरपालुवा पशु, चराचुरुङ्गी र वन्यजन्तुसमेत प्रभावित भएका छन्। वनक्षेत्रका खोल्सी सुकेपछि बँदेल, दुम्सी र नीलगाईजस्ता वन्यजन्तु आहारा र पानीको खोजीमा बस्ती पस्न थालेका छन्। यसले बाली र सुरक्षाको चुनौती थपिएको छ।
जिल्लामा लामो खडेरी पर्दा दक्षिणी क्षेत्रमा पनि कहिलेकाहीँ ट्याङ्करबाट पानी वितरण हुने गरेको छ। गत वर्ष नगरपालिकाले ट्याङ्करबाट पानी वितरण गरेर सङ्कट टारेको थियो।
पानीका स्रोत सुकेपछि बाली लगाउन र हुर्काउन कठिन बनेको छ। चुरे तथा जलाधारविज्ञहरू संरक्षणबिना महोत्तरी र मधेसमै पानीको दीर्घकालीन समाधान नहुने बताउँछन्। समस्या समाधानका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच समन्वयात्मक काम हुनुपर्ने उनीहरूको जोड छ।
