थाइल्याण्डका लागि नेपाली दूतावासले कम्बोडियामा कानुनी आधारबिना लुकिछिपी बस्ने ६०२ नेपाली नागरिकलाई १२ जुन २०२६ (जेठ २९ गते) भित्र स्वदेश फर्कन अल्टिमेटम दिएको छ। दूतावासले सूचना जारी गरी कम्बोडियाको नयाँ कानुनी व्यवस्थाअनुसार तत्काल पक्राउ परी कडा सजाय भोग्नुपर्ने अवस्थाबारे सूचित गराएको हो।
विभिन्न उद्देश्यले कम्बोडिया पुगी भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरेका ती नेपालीका लागि दूतावासले कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना मिनाहा गराई स्वदेश फर्किन सहजीकरण गरेको थियो। तर, इमेल, फोन र ह्वाट्सएपमार्फत सम्पर्क गर्दा अधिकांशले नेपाल फर्किन तदारूकता नदेखाएको दूतावासले जनाएको छ।
तोकिएको समयमा मुलुक नफर्कने विदेशी नागरिकमाथि कम्बोडिया सरकारले नयाँ कानुनअनुसार अनुसन्धान गरी कसुरको प्रकृति हेरी पाँच लाख अमेरिकी डलरसम्म जरिवाना वा आजीवन काराबाससम्मको सजाय गर्ने व्यवस्था गरेको छ। दूतावासले सम्बन्धित सबै नेपाली नागरिकलाई यथाशीघ्र ‘कनेक्टिङ फ्लाइट’सहितको टिकटको व्यवस्था गरी १२ जुन २०२६ भित्र नेपाल फर्किन अनुरोध गरेको छ। साथै, उनीहरूका परिवारजन तथा आफन्तजनलाई पनि आफ्ना प्रियजनलाई तत्काल नेपाल फर्काउने व्यवस्था मिलाउन आग्रह गरेको छ।
