पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा थुनामा रहेका शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले भोटेलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
१७ करोड रुपैयाँ बिगो रकम तिर्ने कबुल गरेपछि उनी धरौटीमा छुटेका हुन्। एमालेनिकट युवा संघका नेतासमेत रहेका भोटेले उक्त सहकारीबाट साढे ८ करोड रुपैयाँ लगेको देखिएको थियो।
सूर्यदर्शनका सञ्चालकसहितले बचतकर्ता र सेयर सदस्यको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको अभियोग छ। सहकारी ऐन, २०७४ तथा मुलुकी अपराध संहिता, २०७४ को ठगी कसुरमा १९ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको थियो।
मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो। उनीसँगै सहकारी ठगीको अभियोगमा कारागारमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी र सञ्चालक समितिका पूर्वसदस्य महेन्द्र भोटेलाई जिल्ला अदालत कास्कीले थुनामा पठाएको थियो।
उक्त सहकारी ठगीमा फरार मुख्य आरोपी गितेन्द्र बहादुर राई (जीबी) अहिले पनि फरार छन्। सहकारी ठगीको आरोप लागेका रवि लामिछाने अहिले रास्वपा सभापति छन्। जीबीका मुख्य सहयोगी रम्तेल २०८० असोज २१ गतेदेखि जेलमा छन्।
