अर्थ मन्त्रालयका राजस्व सचिव बराल गण्डकी प्रदेशमा सरुवा
सरकारले एक मन्त्रालयमा दुई सचिव नराख्ने नीति अख्तियार गर्दै अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशमा सरुवा गरेको छ। जेठ १९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बरालले सोमबार प्रधानमन्त्री कार्यालय पुगेर सरुवा पत्र बुझेका छन्।
बराल गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हाल्नेछन्। उनी यसअघि बागमती प्रदेशको प्रमुख सचिव थिए। २०८२ कात्तिकमा उनी अर्थ मन्त्रालयमा राजस्व सचिवका रूपमा सरुवा भएका थिए।
यस्तै, उपराष्ट्रपति कार्यालयमा चन्द्रकला पौडेल, विज्ञान प्रविधि मन्त्रालयमा प्रमिला बज्राचार्य, राष्ट्रिय सतर्कता केन्द्रमा दिनानाथ मिश्र, नेपाल ट्रष्टको कार्यालयमा चिरञ्जीवी चटौत र त्रिभुवन विमानस्थल समन्वयमा गोविन्द शर्माको पनि सरुवा भएको छ।
