गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ लाख ९५ हजार भारतीय रुपैयाँ बरामद भएको छ। बुद्ध एयरको उडानमार्फत काठमाडौं आउन लागेका भारत आन्ध्र प्रदेशका ५९ वर्षीय भिमा श्रीनिवास उक्त रकमसहित पक्राउ परेका हुन्।
विमानस्थलको आन्तरिक टर्मिनलमा एक्सरेबाट हाते सामान जाँच गर्दा उक्त रकम फेला परेको हो। प्रहरीले श्रीनिवासको खैरो हाते झोलाबाट ५०० दरका १ हजार ५९० थान नोट बरामद गर्यो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले श्रीनिवासलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए।
पक्राउ परेका व्यक्ति र नगद थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए।
