ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाथीभरा केवलकार परियोजनाको निर्माण कार्य अविलम्ब अघि बढाउन माग गर्दै बृहत् सद्भाव र्याली निकालिएको छ। ‘विकासप्रेमी युवा समाज’को आयोजनामा स्थानीयवासी, सङ्घसंस्था र सरोकारवालाको सहभागिता थियो।
सहभागीहरूले केवलकार परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, पूर्वाधार विकास र स्थानीय अर्थतन्त्रको समग्र विकासमा योगदान पुर्याउने भन्दै निर्माण निरन्तरताको माग गरे। फुङ्लिङ बजार परिक्रमापछि र्याली वीरेन्द्र चोकमा सभामा परिणत भयो।
सभामा सरोकारवाला तथा स्थानीय निकायका प्रतिनिधिले केवलकार विकासको महत्त्वपूर्ण पूर्वाधार भएको बताए। उनीहरूले केवलकार, जलविद्युत् र सडकजस्ता पूर्वाधारले ताप्लेजुङ, कोशी प्रदेश र मुलुककै आर्थिक विकासमा योगदान पुर्याउने भएकाले विकास निर्माणमा अवरोध नगर्न धारणा राखे।
वक्ताहरूले परियोजनाको करिब ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको अवस्थामा काम रोक्नु उपयुक्त नहुने उल्लेख गरे। उनीहरूले निर्माण कार्य छिटो सम्पन्न हुने वातावरण बनाउन सरकारसँग आग्रह गरे। दशकौँदेखि पाथीभरा केवलकार परियोजनाको चर्चा भए पनि विभिन्न कारणले निर्माणले मूर्त रूप लिएको थिएन। केही वर्षअघि आइएमई समूहले परियोजनाको नेतृत्व लिएपछि निर्माण अगाडि बढेको थियो।
निर्माण पक्षका अनुसार परियोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। निर्माण कार्य स्थगन हुन सक्ने चर्चा चलिरहेका बेला परियोजनालाई निरन्तरता दिनुपर्ने मागसहित र्याली आयोजना गरिएको थियो। यद्यपि, केवलकार निर्माणको विरोधमा केवलकार खारेजी संयुक्त सङ्घर्ष समिति र मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले विकासका नाममा विनाश हुने र व्यापारी केन्द्र बन्ने भन्दै विरोध गर्दै आएका छन्।
