परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सीमा विवादलाई कूटनीतिक माध्यम र ‘टेबल टक’ मार्फत समाधान गरिने बताएका छन्। तीनदिने भारत भ्रमण सम्पन्न गरी आइतबार साँझ स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सीमा समस्या लगायतका द्विपक्षीय हितका विविध विषयमा भारतीय पक्षसँग गहन छलफल भएको जानकारी दिए।
मन्त्री खनालले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी विवादहरूलाई ऐतिहासिक तथ्य र प्रमाणका आधारमा समाधान गर्न दुवै देश सहमत रहेको बताए। ‘सीमा लगायतका सम्पूर्ण द्विपक्षीय सम्बन्धका विषयमा हामीले छलफल गरेका छौँ,’ उनले भने, ‘अहिले दुवै देशका फिल्ड सर्वे टिमहरूले काम गरिरहेका छन् र बाँकी रहेका विषयलाई कूटनीतिक माध्यमबाटै टुङ्ग्याउने हाम्रो स्पष्ट अडान छ।’
भ्रमणका क्रममा कालापानी र लिपुलेकको मुद्दालाई मन्त्री खनालले प्राथमिकताका साथ उठाएको बताए। भारत र चीनले लिपुलेक हुँदै मानसरोवर यात्राको बाटो खोल्ने सहमतिका विषयमा नेपाल सरकारले यसअघि नै पठाएको कूटनीतिक नोटबारे छलफल भएको उनले जानकारी दिए। ‘हामीले हाम्रा अडानहरू स्पष्ट रूपमा राखेका छौं र भारतको तर्फबाट पनि त्यसको जवाफ आएको छ,’ मन्त्री खनालले थपे, ‘ऐतिहासिक प्रमाणहरूको आधारमा कूटनीतिक संवादमार्फत नै यसको समाधान खोजिनुपर्छ भन्नेमा हामी दृढ छौं।’
सीमा विवादमा तेस्रो पक्षको संलग्नताबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री खनालले नेपालले कुनै मध्यस्थता नखोजेको स्पष्ट पारे। उनले भने, ‘हामीले तेस्रो पक्षको मध्यस्थता खोजेका हैनौं। सुगौली सन्धि लगायतका ऐतिहासिक दस्तावेजहरूका आधारमा हाम्रा सीमाहरू निर्धारण भएका हुन् र ती प्रमाणहरू जुटाउने सन्दर्भमा मात्र आवश्यक संवाद हुनसक्छ भन्ने हाम्रो धारणा हो।’
भ्रमणको सुरुवाती दिनमा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। शनिबार उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग औपचारिक वार्ता गर्दै दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।
मन्त्री खनालले सीमा विवाद सुल्झाउन राष्ट्रिय अभिलेखालयमा रहेका दस्तावेजहरूको अध्ययन भइरहेको बताए। ‘राष्ट्रिय अभिलेखालयमा भएका डकुमेन्टहरू अध्ययन गर्दैछौँ,’ उनले भने, ‘केही विषय हामीसँग छन्, केही विषयको ओरिजनल प्रमाणित कपीहरू नभएको जस्तो पनि देखिन्छ नेपालमा। विभिन्न कालखण्डमा सिंहदरबारमा कुनै समयमा आगो लागेको कारणले हुन सक्छ। कतिपय आधिकारिक दस्ताबेजहरू, हामीसँग नभएका दस्ताबेजहरू वा भएका दस्ताबेजहरूलाई थप सपोर्ट गर्ने डकुमेन्टहरू, तत्कालीन अवस्थामा १८१६ मा सुगौली सन्धि हुँदै गर्दा त्यतिबेलाको बेलायती कम्पनी, उनीहरूले अध्ययन गरेका लेखेका, कहिलेकहिले व्यक्तिगत नोटबुकहरू पनि हिस्टोरिकल इभिडेन्सको रूपमा प्रयोग गर्न सकिन्छ।’
उनले त्यस्ता विषयहरू बेलायतका संग्रहालय, लाइब्रेरी, नेशनल आर्काइभहरूमा रहेको र आवश्यक परे बेलायत सरकारसँगको मित्रवत् सम्बन्धका माध्यमबाट ती दस्ताबेजहरूमा पहुँच स्थापित गर्न छलफल र सहकार्य अघि बढाइने बताए।
