परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने नयाँ आधार तयार पारेको छ। आइतबार स्वदेश फर्किएका मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँगको भेटवार्तामा तीनवटा महत्त्वपूर्ण समझदारी भएको जानकारी दिए।
नेपाल क्लियरिङ हाउस र भारतको एनपिसिआईबीचको सम्झौता कार्यान्वयन गर्दै अन्तरदेशीय ‘पिटुपी’ भुक्तानी लेनदेन प्रक्रियाको औपचारिक सुरुवात गरिनेछ। यसबाट दुवै देशका नागरिकले डिजिटल माध्यमबाट रकम पठाउन र प्राप्त गर्न सहज हुनेछ।
भारत सरकारको विकास सहयोगमा भूकम्पपछि पुनःनिर्माण गरिएका ७२ वटा स्वास्थ्य क्षेत्र र १२ वटा सांस्कृतिक सम्पदाका परियोजनाहरू भारतले नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
शिक्षा र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने गरी काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ र भारतको ‘डिजिटल इन्डिया भाषिनी डिभिजन’ बीच ‘भ्वाइस फस्ट’ भाषा अनुवाद प्लेटफर्म विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो सहकार्य आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी भाषा अनुवादलाई सहज बनाउने राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणमा केन्द्रित रहनेछ।
भ्रमणका क्रममा मन्त्री खनालले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरी सुरक्षा चासो र सीमा व्यवस्थापनबारे छलफल गरेका थिए। उनले ‘इन्डिया फाउन्डेसन’द्वारा आयोजित कार्यक्रममा नेपालको परराष्ट्र नीतिका प्राथमिकतामाथि प्रकाश पारेका थिए।
मन्त्री खनालले यस भ्रमणले व्यापार, लगानी, ऊर्जा सहकार्य र पर्यटन प्रवर्द्धनमा परिणाममुखी सहकार्यका लागि बलियो आधार तयार गरेको विश्वास व्यक्त गरे।
