हुम्ला र बाजुराको सीमा विवाद समाधान गर्न गृहमन्त्रालयलाई दीर्घकालीन उपाय खोज्न राष्ट्रियसभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले निर्देशन दिएको छ। समितिको बैठकले स्थानीय जनता, प्रशासन र सम्बन्धित निकायबीच बृहत छलफल गरी निकास निकाल्न सभापति जयन्तीदेवी राईमार्फत निर्देशन जारी गरेको हो।
गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा च्याचौर (रानीसैन) क्षेत्रमा चर्किएको सीमा विवाद हाल सामान्य अवस्थामा आएको जानकारी दिए। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले त्यहाँको सुरक्षा अवस्थाबारे समितिलाई जानकारी दिँदै पर्याप्त स्रोतसाधनको अभावले अस्थायी संयुक्त सुरक्षा वेस स्थापनाको गृहकार्य भइरहेको बताए। उनले घटनामा संलग्न दोषीमाथि कारबाही प्रक्रिया तीव्र पारिएको पनि उल्लेख गरे।
सशस्त्र प्रहरी बलका महानिरिक्षक नारायणदत्त पौडेलले उक्त क्षेत्र भौगोलिक रूपमा निकै दुर्गम रहेको बताए। बैठकमा सांसदहरू नारायणदत्त मिश्र, रोशनी मेचे, श्रीकृष्णप्रसाद अधिकारी, सोनाम गेल्जेन शेर्पा, किरणबाबु श्रेष्ठ र धर्मेन्द्र पासवानले सीमा विवादको छिटो र दिगो समाधानका लागि सुझाव दिएका थिए।
जेठ ३ गते बाजुराको हिमाली गाउँपालिका-३ लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर हुम्लाको खार्पुनाथ गाउँपालिका-२ थालीका स्थानीयबीच विवाद सुरु भएको थियो। उक्त विवाद झडपमा परिणत हुँदा स्थानीय बासिन्दा घाइते भएका थिए।
