भक्तपुरको जोरपाटी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले कृत्रिम पदार्थ मिसाएर सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र बजारमा दूध बिक्री गरेको खुलासा भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ३१ वैशाखमा गरेको अनुगमनमा उद्योगबाट ५६ किलो ‘डेक्स्ट्रोज मोनोहाइड्रेट’, ९.८६ किलो ‘माल्टोडेक्स्ट्रिन’ र ३० किलो ‘बेकरी सर्टेनिङ’ बरामद भएको थियो।
जेठ पहिलो साता डीडीसीले काभ्रेबाट ल्याएको ३ हजार २० लिटर दूधमा चिनी मिसावट र अस्वाभाविक गन्ध भेटिएको थियो। प्रयोगशाला परीक्षणमा न्यूनतम मापदण्ड नपुगेको पुष्टि भएपछि संस्थानले दूध नष्ट गरेको थियो। यस प्रकरणमा डीडीसीका कर्मचारीको मिलेमतोको आशंका गरिएको थियो।
बुटवल उपमहानगरपालिका क्षेत्रमा आपूर्ति हुने दूधमा पनि सोडाजस्ता घातक रसायन मिसावट भेटिएको थियो। १२ वटा आपूर्तिकर्तामध्ये १० वटाको दूधमा रसायन पुष्टि भएको थियो। फ्याट र एसएनएफको मात्रा पनि निकै कम पाइएको थियो।
मकवानपुर हेटौंडास्थित गायत्री डेरी इन्डस्ट्रिज प्रालिमा फोहोरको थुप्रो भेटिएको थियो। कामदारले मास्क र हेयरनेट नलगाई काम गर्दा संक्रमणको उच्च जोखिम देखिएको थियो। प्रशोधन स्थलमा अखाद्य सामग्री छरपस्ट थिए।
विगतमा कास्टिक सोडा, डिटर्जेन्ट पाउडर, युरिया मल, हाइड्रोजन पेरोक्साइड र चिनीजस्ता घातक वस्तु दूधमा मिसावट हुने गरेका घटना बाहिरिएका छन्। कास्टिक सोडाले अम्लीयपन नष्ट गर्छ, डिटर्जेन्टले बाक्लो बनाउँछ र युरियाले प्रोटिन बढाउँछ। यी रसायनले पाचन प्रणाली, मिर्गौला र कलेजोमा गम्भीर असर पार्ने स्वास्थ्यविद्हरू बताउँछन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार बजारका नमुनामा दूधमा न्यूनतम ३ प्रतिशत ‘फ्याट’ र ८ प्रतिशत ‘एसएनएफ’ हुनुपर्नेमा क्रमशः २.५–२.९ प्रतिशत र ७.१–७.८ प्रतिशत मात्र भेटिने गरेको छ। विभागले चालु आर्थिक वर्षको ९ महिनामा कैफियत भेटिएपछि ८२ वटा मुद्दा दायर गरिसकेको छ।
उपभोक्ता अधिकारकर्मीहरूले नियमनकारी निकायको फितलो भूमिका र दोषीमाथि कडा कारबाही नहुँदा मिसावटको धन्दा मौलाएको आरोप लगाएका छन्। सामान्य जरिबानाले उद्योगीहरूको मनोबल बढेको उनीहरूको भनाइ छ।
