अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुक विगत १० देखि १५ वर्षदेखि निहित स्वार्थ समूहको कब्जामा रहेको दाबी गरेका छन्। आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगसमेत स्वार्थ समूहको नियन्त्रणमा रहेको तथ्यहरू अहिले खुलिरहेको बताए।
सरकार ती स्वार्थ समूहहरूको जालो तोड्न र अर्थतन्त्रका बेथितिलाई जरैदेखि सफा गर्न ‘क्लिन अप दि मेस’ अभियानमा लागेको उनले स्पष्ट पारे। वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल न्यायिक प्रक्रियामा रहेको समेत खुलासा गरे।
१ खर्ब रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा अदालतमा चलिरहेको छ। यसको पछाडिको कथाले राजनीतिक व्यक्ति र निकायहरू कसरी प्रभावित भएका रहेछन् भन्ने डरलाग्दो स्थिति देखाउँछ। यो शुद्धीकरण अभियानले मुलुकमा व्याप्त बेथिति अन्त्य गर्ने उनको भनाइ छ।
नकारात्मक सोचका कारण युवाहरू विदेशिनुपर्ने बाध्यताको भाष्य चिर्न सरकार दृढतासाथ अघि बढेको वाग्लेले दाबी गरे। युवा पुस्तालाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरू आउनुहोस् र भन्नुहोस् के के सुधार्नुपर्ने हो? यसका लागि बजेट कुर्नुपर्दैन।’
सरकार सुशासन र आर्थिक समृद्धिको जग बसाउन पाँच वर्षको स्पष्ट रोडम्यापसहित अघि बढेको उनले स्पष्ट पारे।
