पछिल्लो १५-२० वर्षदेखि युवाहरू विदेशिन बाध्य भएको स्वीकार गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब त्यस्तो अवस्थाको अन्त्य गर्न आगामी बजेटबाटै जग बसालिएको दाबी गरेका छन्। काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा बोल्दै उनले पाँच वर्षभित्र वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्ने लक्ष्य लिएको बताए।
मन्त्री वाग्लेले बजेटको कार्यान्वयनले देश निर्माणको नयाँ बाटो समात्ने विश्वास व्यक्त गरे। देशभरका युवा उद्यमीहरूलाई सम्बोधन गर्दै उनले कर सहुलियत, बक्यौतामा रहेका व्यवसायीलाई छुट, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनलाई बजेटको प्राथमिकतामा राखिएको बताए। यसले उद्यमशीलताको विकासमा सहयोग पुग्ने उनको तर्क छ।
युवा स्वरोजगारलाई प्रोत्साहन गर्न करका दरहरूमा हेरफेर गरिएको जानकारी दिँदै उनले एक लाख रुपैयाँसम्म कमाउने युवालाई करमुक्त गरिएको र कर उल्झनमा परेका व्यवसायीलाई नयाँ सुरुवात गर्न सहुलियत दिइएको बताए। नयाँ सोच भएका युवाहरूलाई सरकारी सहुलियतको उपयोग गर्दै उद्यममा जोडिन उनले आग्रह गरे।
