साउन २५ गते देशभरका ३८ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम छ। बाढी पूर्वानुमान महाशाखाले साना नदीमा बहाव उल्लेख्य बढ्ने जनाएको छ।
महाशाखाका अनुसार झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्लामा साना नदीमा बहाव बढ्नेछ।
केही ठूला नदीको बहाव पनि बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ।
हाल कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली, कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ। यो मापन बिहानको हो।
