रौतहटको सदरमुकाम गौरमा खाजा घर सञ्चालनको आडमा लागूऔषध गाँजाको कारोबार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। गौर नगरपालिका–६ का ३४ वर्षीय शुभ नारायण साह पक्राउ परेका हुन्।
साहले गौर नगरपालिका–३ स्थित ‘काजल स्टील रेलिङ्ग’ नामक खाजा घर सञ्चालन गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, खाजा घरमा गाँजा बिक्री वितरण हुने विशेष सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो।
प्रहरीले खाजा घरको काउन्टरको च्याकमा लुकाइराखेको गाँजा बरामद गर्यो। खानतलासीका क्रममा बिक्रीका लागि तयार पारिएका १२५ पुरिया, कुल ७ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए।
गाँजासहित पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
