नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (सोमबार) दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्दैछ। आइतबारको बैठकमा १७ जना सदस्यले धारणा राखेका थिए।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसङ्घमा नेपालको तर्फबाट उठाउने विषयवस्तुबारे सुझाव दिने मुख्य कार्यसूची छ। यसका अतिरिक्त, भदौ २४ गतेका लागि तय भएको वडा अधिवेशनको मितिलाई बाढी पहिरोबाट प्रभावित क्षेत्रको अवस्था हेरेर पुनःविचार गर्नुपर्ने प्रस्तावमाथि छलफल हुनेछ।
आइतबारको बैठकमा पार्टी सभापति गगन थापाले रसुवाको भोटेकोशी नदीमा आएको बाढी पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडितहरूसँग भेटघाट गरेपछि त्यहाँको यथार्थ वस्तुस्थिति बारेमा बैठकलाई जानकारी गराएका थिए।
आइतबारको बैठकमा सह–महामन्त्रीद्वय फरमूल्लाह मन्सुर र बहादुरसिंह लामा, सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, अर्जुनप्रसाद जोशी, डा चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अब्दुल सत्तार, राजेन्द्रकुमार केसी, ई मोहन आचार्य, प्रा डा गोविन्दराज पोखरेल, भरतकुमार शाह, सुधीरकुमार शिवाकोटी तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती प्रदेश) र ललितजङ्ग शाही (कर्णाली प्रदेश) ले आ–आफ्नो धारणा राखेका थिए।
