NM Khabar 21 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै: विधेयक पारित गर्ने मुख्य कार्यसूची

संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (सोमबार, असोज ५) बस्दैछ । बैठकमा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ र राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । राष्ट्रियसभामा सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ पारित गरिनेछ ।
Laxmi Bhattarai
Laxmi Bhattarai
21 September 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
संघीय संसद् बैठक
Share:

संघीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (सोमबार, असोज ५) बस्दैछ । दुवै सदनको कार्यसूची सार्वजनिक भएको छ ।

सिंहदरबारस्थित संसद् भवनमा अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक सुरु हुनेछ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

यता, अपराह्न १ः१५ बजे राष्ट्रियसभाको बैठक बस्नेछ । बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम छ ।

मन्त्री चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ ।

यसका साथै, आजै कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक पनि बस्ने तय भएको छ ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार