NM Khabar 14 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कांग्रेसमा देउवा–कोइराला पक्षधर ठूला नेताले गरेनन् सदस्यता अद्यावधिक

नेपाली कांग्रेसमा आन्तरिक विवादले शीर्ष नेताहरू सदस्यता अद्यावधिक प्रक्रियाबाट बाहिरिएका छन्। महाधिवेशनमा सहभागी हुन पाउने वा नपाउने विषयमा संस्थापन र इतरपक्षबीच मतभेद छ। महामन्त्री प्रदीप पौडेलले छुटेकालाई समेट्ने बताए पनि नेताहरूले यसलाई राजनीतिक मुद्दा बनाएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
14 June 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
कांग्रेस सदस्यता अद्यावधिक
Share:

काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवादका कारण सभापति शेरबहादुर देउवा, वरिष्ठ नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, बलबहादुर केसी, विजयकुमार गच्छदार, प्रकाशशरण महत, धनराज गुरुङ, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, उमाकान्त चौधरी र जितजंग बस्नेतलगायतका शीर्ष नेताहरूले पार्टी सदस्यता अद्यावधिक नगरेको सूची सार्वजनिक भएको छ। सदस्यता अद्यावधिक गर्ने म्याद बिहीबार सकिएको छ।

अद्यावधिक नगरेका सदस्यहरू महाधिवेशनमा सहभागी हुन पाउने कि नपाउने भन्ने विषयमा पार्टीभित्र संस्थापन र इतरपक्षबीच मतभेद देखिएको छ। शीर्ष नेताहरू नै प्रक्रियामा सहभागी नभएपछि उनीहरूको सदस्यता स्वतः निष्क्रिय हुने वा नेतृत्वले छुट्टै बाटो खोल्ने भन्ने चासो कांग्रेस वृत्तमा छ।

सदस्यता अद्यावधिक अभियानका संयोजकसमेत रहेका महामन्त्री प्रदीप पौडेलले नयाँ सदस्यता वितरणको समयसीमासम्म छुटेकालाई अद्यावधिकमा समावेश गरिने बताएका छन्। नयाँ सदस्यता वितरणको समयसीमा २० असारसम्म तोकिएको छ। ‘त्यस अवधिसम्म छुटेका कसैले अद्यावधिक गर्न चाहे केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ, त्यसपछि मिलाउँछौं,’ उनले भने, ‘नेताहरूका हकमा अझै सहज वातावरण बनाउँछौं।’

पूर्वसभापति देउवा पत्नी आरजु राणासहित विदेशमै रहेकाले प्रत्यक्ष सम्पर्क हुन नसके पनि देउवालाई सदस्यता अद्यावधिकका लागि आग्रह गर्दै आएको महामन्त्री पौडेलले बताए। ‘सबै प्रक्रिया अनलाइनमार्फत भएकाले विदेशबाट पनि सदस्यता अद्यावधिक गर्न सकिन्छ,’ उनले भने।

स्रोतका अनुसार देउवा, खड्का, कोइराला, सिटौला, सिंह, निधि, कोइराला, बस्नेत, गच्छदार, महत, गुरुङ, पाण्डे, कार्की, साउद, लेखक, घिमिरे, भण्डारी, उपाध्याय (डिना), बस्नेत, बलायर, बस्नेत, चौधरी र बस्नेतलगायतले अद्यावधिक गरेका छैनन्।

कांग्रेसका अनुसार अद्यावधिक गर्न योग्य क्रियाशील सदस्यको संख्या ७ लाख ८२ हजार २०९ छ। तीमध्ये ५ लाख ३८ हजार ६२२ जनाले अद्यावधिक गरिसकेका छन् भने १ लाख ४८ हजार ३ सय ९ जना अद्यावधिक प्रक्रियामा छन्।

१५ औं महाधिवेशनको संघारमा उठेको सदस्यता अद्यावधिकसम्बन्धी विषयले भावी नेतृत्वको प्रतिस्पर्धालाई समेत जोडेर हेरिएको छ। महाधिवेशन प्रतिनिधि छनोट र मताधिकारको आधार क्रियाशील सदस्यता भएकाले अद्यावधिकलाई इतरपक्षले राजनीतिक मुद्दा बनाउँदै आएको छ।

गत २४ जेठमा पूर्वकार्यवाहक सभापति खड्का र ११ जेठमा नेता शेखर कोइरालाले १० पुस २०८२ सम्म नवीकरण गरेका सबैलाई १५ औं महाधिवेशनमा भाग लिने वातावरण बनाइने बताएका थिए। महामन्त्री पौडेलले अद्यावधिकको समयसीमा अगाडि सबै नेताहरूलाई टेलिफोनमार्फत विशेष आग्रह गरिएको बताए।

नेता विमलेन्द्र निधि अद्यावधिक गर्ने विषयलाई ‘बेइमानी’ भन्दै गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री भएकै बेला १० पुस २०८२ सम्म नवीकरण भएका करिब ६ लाख सदस्य नै कायम राखिनुपर्ने बताएका छन्। कोइरालानिकट नेता बद्री पाण्डेले पनि एकताको साँचो सभापति देउवाकै हातमा रहेको र यसअघिको नवीकरणलाई कायम राखेर महाधिवेशनमा जानुपर्ने बताएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार