NM Khabar 8 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

इलामका किसान सुपारी खेतीमा रमाउँदै, प्रति केजी रु ७० सम्म आम्दानी

इलामका किसानहरू कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने सम्भावना देखेर व्यावसायिक सुपारी खेतीमा आकर्षित भएका छन्। माई नगरपालिकाका अक्कलबहादुर राईले यस वर्ष २५ क्विन्टल सुपारी बिक्री गरे।
Kamala Devi
Kamala Devi
8 June 2026, 4:33 pm १ मिनेट पढाइ
आकार:
इलाम सुपारी खेती
Share:

इलामका किसान व्यावसायिक सुपारी खेतीमा रमाउँदैछन्। कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने सम्भावना देखेर उनीहरू खाली जमिनमा यस खेतीप्रति आकर्षित भएका हुन्। यहाँका केही किसानले आठ हजार बोटसम्म सुपारी लगाएका छन्।

माई नगरपालिका–९ का किसान अक्कलबहादुर राईले यस वर्ष २५ क्विन्टल सुपारी बिक्री गरे। उनले अधिकांश जग्गामा सुपारी रोपेको र आधा बोटबाट आम्दानी लिन थालिसकेको बताए। प्रतिकेजी रु ७० सम्ममा घरबाटै बिक्री हुने गरेको उनको अनुभव छ। राईले करिब पाँच हजार बोट रोपेका छन्, जसमध्ये अधिकांशले आम्दानी दिन थालेका छन्।

अर्का किसान धर्मराज पुरीले यस वर्ष १८ क्विन्टल सुपारी बिक्री गरेको जानकारी दिए। केही बोटले उत्पादन दिन थालेपछि यति परिमाणमा बिक्री भएको हो। पुरीले करिब १० रोपनी क्षेत्रमा पाँच हजार बोट सुपारी लगाएका छन्। व्यापारीहरूले बगानबाटै प्रतिकेजी रु ७० सम्ममा सुपारी किनेर लैजाने गरेकाले बिक्रीको चिन्ता नहुने उनको भनाइ छ।

किसान पवन किरातीले सुपारी खेती सुरु गरेपछि घरव्यवहार चलाउन सहज भएको बताए। उनले करिब आठ हजार बोट रोपेका छन्। यस वर्ष १० क्विन्टल काँचो सुपारी बिक्री गरेर उनले घरखर्च टार्न सफल भएका छन्। किरातीको बगानमा केही बोट फल्न थालेका छन् भने अधिकांश हुर्कंदै गरेका छन्। बहुवर्षे नगदेबाली भएकाले सुपारीको एकै बोटबाट ५० केजीसम्म उत्पादन हुने गरेको छ।

किसान अभिषेक यक्तेनले घरआँगनका डिलदेखि खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न सकिने हुँदा धेरै किसान लाभान्वित भएको बताए।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार, हाल इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको छ। माई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र रोङ गाउँपालिकाको तल्लो चुरे क्षेत्रका किसान यस खेतीमा सक्रिय छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार