सिङ्गापुरको नेशनल क्रिकेट ग्राउन्डमा सम्पन्न एसियाली खेलकुद पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डकवर्थ लुइस (डीएलएस) पद्धतिका आधारमा १९ रनले पराजित गर्दै च्याम्पियनको उपाधि चुमेको छ। वर्षाले खेल सुचारु हुन नसकेपछि नेपाल डीएलएस पार स्कोरभन्दा अगाडि रहेर जित दर्ता गर्न सफल भयो।
१ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर १ सय १४ रन बनाएको अवस्थामा भारी वर्षा सुरु भएको थियो। नेपालका लागि ओपनर कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गर्दै ४० बलमा ८ चौका र ३ छक्काको मद्दतले ६५ रनको सानदार अर्धशतकीय पारी खेले।
भुर्तेल आउट भएपछि क्रिजमा रहेका रोहित पौडेलले २४ बलमा ३५ रन र कप्तान दीपेन्द्र सिंह ऐरीले ४ बलमा ९ रन जोड्दै नेपाललाई सुरक्षित स्थानमा पुर्याएका थिए। नेपालको जवाफी ब्याटिङको सुरुवात धर्मराएको थियो। ओपनर आसिफ शेख पहिलो ओभरमै शून्य रनमा बोल्ड आउट भएपछि नेपालले ४० रनको स्कोरमा पहिलो विकेट गुमाएको थियो।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८८ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। हङकङका लागि ओपनर अन्सुमन रथले ४५ बलमा ८० रनको आक्रामक पारी खेलेका थिए भने साहिद वासिफले २८ बलमा ५५ रनको योगदान दिए।
नेपालका लागि बलिङतर्फ शेर मल्लले घातक बलिङ गर्दै ४ ओभरमा ३२ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए। अनुभवी बलर करण केसीले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट हात पारे।
वर्षाका कारण खेल अवरुद्ध भएपछि अम्पायरहरूले डकवर्थ लुइस पद्धतिका आधारमा नतिजा घोषणा गरेका थिए। ११.३ ओभरको समाप्तिमा नेपालको पार स्कोर ९५ रन हुनुपर्नेमा नेपाल १ सय १४ रनको स्थितिमा थियो। पार स्कोरभन्दा १९ रनले अगाडि रहेकाले नेपाललाई विजयी घोषित गरिएको हो।
