नेपाल र भारतले सीमापार व्यक्तिगत भुक्तानी (P2P) सेवा सञ्चालनसँगै डिजिटल पूर्वाधारमा सहकार्य गर्ने भएका छन्। शनिबार नयाँ दिल्लीमा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस जयशंकरले यो घोषणा गरेका हुन्।
यो सम्झौताले दुई देशका नागरिकलाई सीमापार रकम सार्न र भुक्तानी गर्न सहज बनाउनेछ। यो सेवा नेपाल क्लियरिङ हाउस (NCHL) र नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (NPCI) बीचको समझदारी (MoU) अन्तर्गत सुरु भएको हो।
सोही अवसरमा भारतले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गरेका ७२ स्वास्थ्य र १२ सांस्कृतिक परियोजना नेपाललाई हस्तान्तरण गरेको छ। काठमाडौं विश्वविद्यालय र डिजिटल इन्डिया भाषिनी डिभिजनबीच ‘भोइस फर्स्ट’ भाषा अनुवाद प्लेटफर्म सह-सिर्जना गर्न समझदारी भएको छ।
दुई मन्त्रीहरूले द्विपक्षीय परियोजनाको प्रगति समीक्षा गरेका थिए। उनीहरूले कार्यान्वयनलाई गति दिने उपायमा विचार आदानप्रदान गरे। क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा पनि छलफल भएको थियो।
दुई छिमेकी मुलुकबीचको सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्। वार्ता व्यापार, आर्थिक सहयोग, सीमापार कनेक्टिभिटी, ऊर्जा, जलस्रोत व्यवस्थापन र खेलकुदमा केन्द्रित थियो।
