रौतहटमा वन संरक्षण गस्तीमाथि आक्रमण गर्ने मुख्य आरोपी राजकिशोर साह वीरगन्जबाट पक्राउ परेका छन्। गुजरा–२ मैढाका २६ वर्षीय साहलाई चन्द्रनिगाहपुर इलाका प्रहरी र वीरगन्ज बिर्ता चौकीको संयुक्त टोलीले शनिबार साँझ लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।
साहलाई चन्द्रनिगाहपुर प्रहरी हिरासतमा राखिएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार सहायक वन अधिकृत राजकुमार चौधरीको जाहेरीमा साहविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको छ।
जिल्ला अदालत रौतहटले पक्राउ आदेश जारी गरेपछि प्रहरीले खोजी तीव्र पारेको थियो। गत १९ गते राति करिब १२:३० बजे काठ चोरी सूचनामा जंगल पसेको डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको संयुक्त टोलीमाथि साह समूहले आक्रमण गरेको थियो।
आक्रमणमा सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, समितिका सदस्य अर्जुन चौधरी र विमल थापा, चालक अरविन्द पटेल घाइते भएका थिए।
रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष अशोक यादवले काठ चोरी सूचनापछि टोली गस्तीमा गएको बताए। जङ्गलभित्र पुगेपछि समूहले सङ्गठित आक्रमण गरेको थियो।
वन कर्मचारीमाथि आक्रमणले रौतहटका वन क्षेत्रमा सक्रिय तस्करी सञ्जाल र सुरक्षा चुनौतीबारे प्रश्न उठाएको छ।
