सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक सोमबार बिहान ९:३० बजे बोलाएका छन्। नयाँ कार्यव्यवस्था परामर्श समिति गठन हुन नसकेको अवस्थामा सदनको कार्यसूचीबारे छलफल गर्न यो बैठक आयोजना गरिएको हो। सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सिंहदरबारस्थित सचिवालयमा बैठक बस्ने जानकारी दिए।
प्रतिनिधि सभा नियमावली २०७९ अनुसार सञ्चालन भइरहेकोमा जेठ १७ गते नियमावली २०८३ पारित भएपछि पुरानो समिति स्वतः विघटन भएको थियो। नयाँ नियमावली २०८३ पारित भएयता विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिँदा नयाँ कार्यव्यवस्था परामर्श समिति गठन हुन सकेको छैन।
विपक्षी दलहरूको माग छ कि प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्छ र उनले सदनमा माफी माग्नुपर्छ। यही मागलाई लिएर विपक्षीले लगातार सदनमा अवरोध गर्दै आएका छन्।
जेठ १९ गतेपछि प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजेका लागि आह्वान भएको छ। यस बैठकको कार्यसूची तय गर्न र सदनमा जारी गतिरोध अन्त्य गर्ने उपाय खोज्न सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्न लागेका हुन्।
