तराईका केही भू-भागमा तापक्रम बढेर तातो हावा चल्ने सम्भावना देखिएको छ। यसैबीच, कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएको छ।
महाशाखाका अनुसार हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको आंशिक प्रभाव छ। यसले देशका विभिन्न भागमा मौसम बदली गराएको छ। अहिले पहाडी र हिमाली भू-भागमा सामान्य बदली छ। तराईका क्षेत्रमा आंशिक बादल लागेको छ।
कोशी प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बाँकी हिमाली र पहाडी क्षेत्रका पनि एक-दुई स्थानमा यस्तै मौसमी गतिविधि हुन सक्नेछ।
यसैबीच, मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तापक्रम बढेर तातो दिन हुने सम्भावना रहेको छ।
