राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू भने सहभागी नहुने भएका छन्।
स्रोतका अनुसार, कांग्रेसले संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई बैठकमा पठाउने निर्णय गरेको छ। एमालेले प्रमुख सचेतक ऐनबहादुर महर सहभागी हुनेछन्। एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष रामबहादुर थापा बादल भने बैठकमा नजाने जानकारी एमाले संसदीय दलकी उपप्रमुख पद्मा अर्यालले दिएकी थिइन्।
माओवादी केन्द्रले भने सहसंयोजक माधवकुमार नेपाल र वर्षमान पुनलाई बैठकमा पठाउने भएको छ। रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुन सक्ने व्यवस्था मिलाएका थिए।
बैठकमा राष्ट्रिय चासोका समसामयिक राजनीतिक मुद्दामाथि छलफल हुनेछ। रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आह्वान गरिएको जानकारी दिएका छन्।
