सुदूरपश्चिम प्रदेश सरकारमा आज मन्त्रिमण्डल पुनर्गठन गरिँदैछ। सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई जिम्मेवारी दिने निर्णय गरेका छन्।
पार्टीभित्रको असन्तुष्टि साम्य पार्ने र पालैपालो मन्त्री पद बाँड्ने रणनीतिका साथ नयाँ मन्त्रीहरूको शपथग्रहणको तयारी गरिएको हो। यसलाई सरकार टिकाउने अन्तिम कसरतका रूपमा हेरिएको छ।
नेकपा एमालेले मन्त्री बन्नेहरूको सूची मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाइसकेको छ। हाल सरकारमा रहेका एमालेका मन्त्रीहरू बाहिरिनेछन् र उनीहरूको ठाउँमा नयाँ टोली आउनेछ। एमालेबाट संसदीय दलका उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई मन्त्री बनाउने निर्णय भएको छ।
हाल सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की छन्। पार्टीले उनीहरू तीनै जनासहित भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउदलाई पनि सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ।
यता, नेपाली कांग्रेसले पनि आफ्ना सबै मन्त्री फेर्ने निर्णय गरेको छ। हाल कांग्रेसका तर्फबाट आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का तथा राज्यमन्त्रीहरू प्रकाश बम र सरस्वती खड्का सरकारमा छन्। उनीहरू सबैलाई फिर्ता बोलाएर नयाँ टोली पठाउन लागिएको हो। यद्यपि, कांग्रेसले नयाँ मन्त्रीहरूको अन्तिम नामावली भने अहिलेसम्म सार्वजनिक गरेको छैन।
केही समयअघि मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसकै ९ जना सांसदले अविश्वासको प्रस्तावसमेत दर्ता गराएका थिए। मन्त्री बन्न नपाएको भन्दै सुरु भएको सो विद्रोह मत्थर पार्न मुख्यमन्त्रीले अहिले नयाँलाई अवसर दिन लागेका हुन्।
आज मन्त्री बन्नेहरूमा मुख्यमन्त्री पक्ष र अविश्वासको प्रस्ताव पेस गर्ने विद्रोही पक्ष दुवैतर्फका सांसद समेटिने बताइएको छ। विद्रोही समूहको नेतृत्व गरेका दिवानसिंह विष्टले सरकारको कार्यसम्पादन अझै प्रभावकारी बनाउन नयाँ टोली पठाउन लागिएको बताएका छन्।
नयाँ मन्त्रीहरूको नामावली आजै सार्वजनिक गरेर साँझसम्म शपथग्रहण गराउने तयारी मुख्यमन्त्रीको सचिवालयले गरेको छ।
