इजरायलले इरानका तेहरान, तब्रिज र इस्फाहानसहितका क्षेत्रमा हवाई हमला गरेको छ। आइतबार बेरुतमा भएको इजरायली आक्रमणको जवाफमा इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले यो कदम चालेको हो।
इरानको सरकारी टेलिभिजन च्यानलले राजधानी तेहरानसहित तीन शहरमा विस्फोट भएको जानकारी दिएको छ। सरकारी टेलिभिजनका अनुसार तेहरान, तबरीज र इस्फाहानमा धेरै विस्फोटका आवाज सुनिएका छन्। कराज सहर नजिक पनि विस्फोट भएको रिपोर्ट छ।
यसअघि आइतबार लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमण भएको थियो। त्यसको जवाफमा इरानले इजरायलमाथि मिसाइल प्रहार गरेको थियो। त्यसको बदलामा इजरायलले इरानमाथि आक्रमण गरेको हो।
इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले ‘निरन्तर आक्रमणहरूको सुरुवात’ भएको जनाएको छ। आईआरजीसीले चेतावनी दिँदै भनेको छ, ‘यदि इजरायलले आक्रामक गतिविधि दोहोर्यायो भने त्यसको जवाफ झन् ठूलो स्तरमा दिइनेछ, जसमा यस क्षेत्रमा रहेका अमेरिका र इजरायलका सबै अड्डाहरू पनि समावेश हुन सक्छन्।’
इरानले अमेरिका र इजरायल सरकारले अप्रिलको युद्धविराम सम्झौताअनुसार आफ्नो प्रतिबद्धता पूरा नगरेको आरोप लगाएको छ। इरानको विदेश मन्त्रालयले थप चेतावनी दिँदै देशले आफ्नो सुरक्षा र राष्ट्रिय हितको रक्षा गर्ने स्पष्ट गरेको छ। यदि इजरायलले लेबनान वा इरानमाथि पुन: आक्रमण गर्यो भने ‘कडा र ठूलो जवाफ’ दिइने बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई संयम अपनाउन आग्रह गरे पनि तनाव बढ्दै गएको छ। यो घटना अप्रिलको युद्धविरामपछि पहिलो ठूलो प्रत्यक्ष टकराव हो। दुवै पक्षले थप हमलाको चेतावनी दिएका छन्।
यसैबीच, बेरुतको दक्षिणी क्षेत्रमा इजरायली आक्रमणपछि तेहरानमा सरकारको समर्थनमा प्रदर्शनहरू भएका छन्। प्रदर्शनकारीहरूले इरान र हिज्बुल्लाहका झण्डा बोकेका थिए।
