बजेट ल्याउन एक साता मात्र बाँकी रहँदा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलभित्रको विवादले मुख्यमन्त्री कमलबहादुर शाहलाई मन्त्रिपरिषद् हेरफेर गर्न बाध्य पारेको छ। आजै नयाँ मन्त्रीहरूको नियुक्ति र शपथको तयारी छ।
कांग्रेसका प्रमुख सचेतक विक्रम सिंह धामीका अनुसार नेकपा एमाले र कांग्रेसका मन्त्रीहरू फेरिने छन्। एमालेले सन्तोष थापा शर्मा, चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमको नाम सिफारिस गरेको छ। हाल एमालेले आन्तरिक मामिला तथा कानून, भूमी व्यवस्था, र भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गरिरहेको छ।
कांग्रेसतर्फ मुख्यमन्त्री बाहेक तीन मन्त्री र दुई राज्यमन्त्री फेरबदल हुनेछन्। अविश्वासको प्रस्ताव ल्याउने समूहबाट दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिनेछ।
प्रमुख सचेतक धामीले भूगोलको सन्तुलन मिलाएर मन्त्री नियुक्त गर्ने जिम्मा मुख्यमन्त्री शाहलाई नै दिएको बताए। पहाडी जिल्लाबाट अछामका मानबहादुर रावल र बाजुराका पदम शाहीमध्ये एकजना मन्त्री बन्नेछन्।
तराई भूगोलबाट कञ्चनपुरका बेलबहादुर राना र गीता चौधरीलाई मन्त्री बनाउने चर्चा छ। यो पक्षले सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्व गर्नेछ।
मुख्यमन्त्री शाहले आफूनिकट एक मन्त्री र एक राज्यमन्त्री बनाउने तयारी गरेका छन्। अर्थ मन्त्रालय मुख्यमन्त्रीको भागमा परेको छ।
धामीका अनुसार आजै मन्त्री नियुक्त गर्ने तयारी छ। आफ्नै ९ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री शाह दबाबमा परेका थिए।
केन्द्रबाट गएको उदयसमशेर राणा नेतृत्वको टोलीले दुवै पक्षलाई मिलाएर मन्त्री भागबन्डा गर्ने सहमति गराएपछि आन्तरिक विवाद साम्य भएको छ।
