सङ्खुवासभा । चट्याङ र पहिरोले ६२ पशुचौपाया गुमाएका पाँच घरपरिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिले रु चार लाख ९३ हजार राहत दिने निर्णय गरेको छ। समितिको बैठकले विपद् पीडितलाई क्षतिपूर्तिस्वरुप नगद वितरण गर्ने निर्णय गरेको हो।
२०८२ वैशाखमा परेको चट्याङले पुष्पलाल भण्डारीका १२ भैँसी र पाँच गाईमा रु दुई लाख ९१ हजार क्षति पुर्याएको छ। सरोज कुलुङ र गङ्गाबहादुर मादेनलाई एक/एक गोरुका लागि रु १५ हजार दिइनेछ। टेकबहादुर गुरुङलाई ४३ भेडा मरेको रु एक लाख ७२ हजार राहत प्रदान गरिनेछ। यो रकम पशुसेवा विज्ञ केन्द्र खाँदबारीको कार्यक्रमअन्तर्गत प्राप्त रु पाँच लाखबाट वितरण गरिनेछ।
मकालु–५ का दलबहादुर गुरुङको पशुधन क्षतिको राहत प्रक्रिया अघि बढाइनेछ। जेठ ९ गतेको पहिराले फोक्टेमा राखेका २५० मध्ये २१० भेडा बेपत्ता भएका थिए। यसका लागि कोशी प्रदेश मन्त्रालयमा प्रक्रिया बढाइनेछ।
उत्तर–दक्षिण कोशी सडक कार्यालयले सडक निर्माणले क्षति बेहोरेका डिल्लीकुमार राईलाई रु दुई लाख ५५ हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ। बैठकले जिल्लाभरका पुल, झोलुङ्गे पुलको जोखिम अध्ययन गरी मर्मतसम्भार पहल गर्ने निर्णय गरेको छ। भोटखोलाका तीन परिवारको घर बाढीपहिरोले क्षति भएकाले आवास पुनःनिर्माणको दोस्रो किस्ता अनुदान सिफारिस गरिनेछ।
मकालु–२ सेदुवाको हिमान्द्री माविको पहिरो अध्ययन गरिनेछ। विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित कार्यालयबीच समन्वय सुदृढ गरिनेछ।
