लुम्बिनी प्रदेशका पाँच नवनियुक्त मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले उनीहरूलाई शपथ गराएका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो। पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा एमालेबाट चार र जनता समाजवादी पार्टीबाट एक जना सदस्य थपिएका छन्।
नवनियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर छन्।
तुलसी प्रसाद चौधरीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्। डिल्लीराज भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हाल्नेछन्। रामजी प्रसाद घिमिरे स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्रालय र भण्डारीलाल अहिर आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा रहनेछन्।
शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती मगर र उपसभामुख मेनुका खाँड केसी लगायतको उपस्थिति थियो।
