NM Khabar 8 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

किचकबधमा नवौँ चरणको उत्खनन सुरु, प्राचीन संरचना जोगाउन चुनौती

• झापाको किचकबधस्थलमा पुरातत्त्व विभागले नवौँ चरणको उत्खनन सुरु गरेको छ । • महाभारतकालीन विराट राजाका सालो किचकको दरबार रहेको मानिने यो स्थलमा प्राचीन संरचना जोगाउन चुनौती छ । • सीमित बजेटका कारण उत्खनन र संरक्षणको कार्य हरेक वर्ष अधुरो हुने गरेको छ ।
Kamala Devi
Kamala Devi
8 June 2026, 1:48 pm १ मिनेट पढाइ
आकार:
किचकबध उत्खनन
Share:

झापाको भद्रपुर–३ स्थित किचकबधस्थलमा पुरातत्त्व विभागले नवौँ चरणको उत्खनन सुरु गरेको छ । दुई सदस्यीय टोलीले स्थानीयको सहयोगमा उत्खनन कार्य अगाडि बढाएको हो ।

महाभारतकालीन विराट राजाका सालो किचकको दरबार रहेको विश्वास गरिने यो स्थानमा जेठ ८ गतेदेखि उत्खनन सुरु भएको पुरातत्त्वविद् उद्धव आचार्यले बताए । उनको नेतृत्वमा विभागको टोलीले जेठ महिनाभित्रै यस वर्षको उत्खनन सक्ने लक्ष्य लिएको छ ।

विसं २०५८ देखि आचार्यकै नेतृत्वमा यस क्षेत्रमा उत्खनन भइरहेको छ । यसपटक विगतमा उत्खनन गर्न बाँकी रहेका स्थानमा काम थालिएको छ ।

दश बिघा क्षेत्रफलमा फैलिएको किचकबध स्थलमा पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना बनेका छन् । यसले प्राचीन महत्वका संरचना र वस्तुहरू नष्ट हुने उच्च जोखिममा छन् ।

किंवदन्तीअनुसार, महाभारतकालमा राजा विराटको सालो किचकको दरबार यहीँ थियो । पाण्डवहरूको गुप्तबासका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले किचकलाई विराटनगरबाट लखेट्दै यही दरबारमा ल्याई बध गरेका थिए । यसै कारण यस स्थानलाई किचकबधस्थल भनिन थालिएको स्थानीय बताउँछन् ।

किचकबध स्थलको पौराणिक तथा पुरातात्त्विक महत्त्व अत्यधिक भए पनि उत्खनन र संरक्षणका लागि पर्याप्त लगानी हुन सकेको छैन । सीमित बजेटका कारण हरेक वर्ष उत्खनन र संरक्षणको कार्य अधुरो हुने गरेको पुरातत्त्वविद् आचार्यले गुनासो गरे ।

विगतका उत्खननबाट यहाँ २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्डसहितका भौतिक संरचना भेटिएको थियो । मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाँडावर्तनसमेत फेला परेका थिए । पुरातत्त्व विभागले ती सामग्री संरक्षण गर्दै आएको छ ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार