प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ। एमालेले प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको अभिव्यक्ति सच्याएर क्षमायाचना गर्नुपर्ने माग गरेको छ।
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले विरोध जनाएका थिए। एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गरेको आरोप लगाइन्। उनले प्रधानमन्त्रीले संसदमा आएर नेपालले भारतको जग्गा मिचेको भनी दिएको अभिव्यक्ति भूल सुधार गरी क्षमायाचना गर्नुपर्ने माग गरिन्।
अर्यालले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न अंग भएको र ती क्षेत्र निःशर्त रूपमा फिर्ता हुनुपर्ने धारणा राखिन्। यो विषय कुनै एक विपक्षी दलको मात्र नभई तीन करोड नेपाली जनताको साझा सरोकारको विषय भएको उनको भनाइ थियो।
एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ। यदि माग पूरा नभए सदन चल्न नदिने अडान एमालेको छ।
प्रधानमन्त्री बालेनले १७ जेठमा प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने क्रममा ‘मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए।
