जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै छ। अपारदर्शी आयात र उपभोक्ताको बढ्दो मागले बजारमा आपूर्ति सहज हुन सकेको छैन।
गत असार ३१ देखि १४.२ किलोग्रामको पूर्ण सिलिन्डर ग्यास बिक्री सुरु भएपछि सुरुमा माग र आपूर्तिमा असन्तुलन देखियो। यसअघि चार महिना ७.१ किलोग्रामको आधा सिलिन्डर बिक्री हुँदै आएको थियो। पूर्ण सिलिन्डरमा फर्किँदा उपभोक्ताको माग एक्कासी बढेपछि जनकपुरधामसहित मधेशका बजारमा ग्यास पाउन कठिन भएको छ।
नेपाल आयल निगमले भारतबाट एलपी ग्यास आयात बढाइरहेको छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायका अनुसार दैनिक एक सयभन्दा बढी बुलेट भारतबाट नेपाल भित्रिरहेका छन्। उनले एक साताभित्र ग्यास बिक्री वितरण सहज हुने अपेक्षा व्यक्त गरे। उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गरे।
जनकपुरधाममा ग्यास आपूर्ति सहज बनाउन ढुवानी व्यवस्थापनले भूमिका खेल्छ। वीरगञ्ज, बारा तथा सिमरा औद्योगिक क्षेत्रबाट ग्यास आउने भएकाले उद्योगबाट पठाइए पनि बजारसम्म आइपुग्न समय लाग्ने व्यवसायीहरू बताउँछन्।
व्यवसायीहरूको गुनासो छ, तीन दिनमा आइपुग्नुपर्ने ग्यास ढुवानीमा ढिलाइ हुँदा उपभोक्ताले लामो समय कुर्नुपरेको छ। केही दिनयता ग्यास कम्पनीमै आपूर्ति समयमा नहुँदा बजारमा अभाव सृजना भएको उनीहरूको दाबी छ। जनकपुरधामबाहेक मधेशका ग्रामीण तथा सीमावर्ती बजारमा नियमित आपूर्ति कायम राख्न ढुवानी व्यवस्थापन झनै महत्वपूर्ण देखिन्छ।
अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण नेपाल आयल निगमले गत फागुन २९ देखि ७.१ किलोग्रामको आधा सिलिन्डर बिक्री गरेको थियो। त्यसले तत्कालीन आपूर्ति संकट केही हदसम्म समाधान गरे पनि ग्यास आयातमा उल्लेख्य कमी आएको थियो।
नेपालमा सामान्य अवस्थामा मासिक करिब ४६ हजार मेट्रिक टन एलपी ग्यास खपत हुन्छ। फागुन २९ देखि असार ३१ सम्मको चार महिनामा सामान्य खपतको तुलनामा करिब ५० हजार मेट्रिक टन कम ग्यास आयात भएको निगमको तथ्यांक छ। आधा सिलिन्डर बिक्रीले तत्कालीन माग घटाए पनि धेरैले पूर्ण सिलिन्डर पाउने आशामा खाली सिलिन्डर ‘होल्ड’ गर्दा अहिले पूर्ण सिलिन्डर वितरण सुरु भएपछि बजारमा माग एक्कासी बढेको उद्योगीहरू बताउँछन्।
ग्यास आयात बढिरहेको तथ्यांकले मधेशसहित देशभरको आपूर्ति अवस्था सुधार हुने संकेत दिएको छ। गत आर्थिक वर्षको साउनमा ४४,३१८ मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। चालु आर्थिक वर्षको साउनको पछिल्लो २२ दिनमै ३९,७७४ मेट्रिक टन ग्यास आयात भइसकेको निगमले जनाएको छ। यही गतिमा आयात भएमा चालु साउनमा करिब ५४ देखि ५५ हजार मेट्रिक टन ग्यास आयात हुन सक्ने अनुमान छ।
दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा ग्यासको माग थप बढ्ने भएकाले सरकारले त्यसअघि नै आपूर्ति व्यवस्थापनमा जोड दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवका अनुसार सरकारले तीन महिनाका लागि ग्यास आयातको कोटा बढाउन भारतसँग कूटनीतिक पहल गरिरहेको छ।
मन्त्री यादवले बजारमा पर्याप्त ग्यास रहेको दाबी गर्दै उपभोक्तालाई हल्लाको पछि लागेर अनावश्यक सञ्चिती नगर्न आग्रह गरेकी छन्। मधेश प्रदेशमा ग्यासको माग उच्च रहने भएकाले आपूर्ति सहज बनाउन उद्योगी, डिलर र उपभोक्ता सबैको भूमिका महत्वपूर्ण छ। जनकपुरधाम, वीरगञ्ज, राजविराज, लहान, कलैया, मलङ्गवा लगायतका प्रमुख बजारमा नियमित आपूर्ति कायम राख्न वितरण प्रणालीलाई चुस्त बनाउनुपर्ने आवश्यकता छ।
निगममा गठन गरिएको ‘क्विक रेस्पोन्स टिम’ले ग्यास नपाएको गुनासो गर्ने पाँच सयभन्दा बढी उपभोक्ताका गुनासो सम्बोधन गरिसकेको छ। उपभोक्ताका गुनासाका आधारमा सम्बन्धित डिलर तथा उद्योगसँग समन्वय गरी ग्यास उपलब्ध गराउन सहजीकरण गर्ने काम टोलीले गरिरहेको छ। निगमले बजार अनुगमनका क्रममा कृत्रिम अभाव तथा कालोबजारी नभेटिएको जनाएको छ। मधेशका जिल्लामा आपूर्ति, ढुवानी र वितरणको अवस्थाबारे नियमित अनुगमन आवश्यक रहेको उपभोक्ताहरू बताउँछन्।
