सिरुटारको उत्साहित सुधार केन्द्रमा आइतबारको झडपले ४१ वर्षीय उमेश खड्गीको ज्यान लियो। प्रहरीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ। खड्गीका आफन्त र स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन्।
मृतककी धर्मपत्नी भगवती शाहीका अनुसार खड्गीलाई गत बिहीबार स्वास्थ्य सामान्य रहेकै बेला केन्द्रमा भर्ना गरिएको थियो। आइतबार बिहान ४ बजेतिर कर्मचारी घर पुगेर श्रीमान्लाई अस्पताल लगिएको खबर गरे। मध्यपुर अस्पताल पुग्दा उनको मृत्यु भइसकेको थियो।
शाहीले सामान्य अवस्थाका श्रीमान्को अस्वाभाविक मृत्युबारे सोधखोज गर्दा कुटपिटबाट ज्यान गएको पुष्टि हुने सिसिटिभी फुटेज फेला पारेको बताइन्। फुटेजमा सुधार केन्द्रका अन्य बिरामीहरूले खड्गीमाथि निर्घात कुटपिट गरेको स्पष्ट देखिन्छ। उनले दोषीमाथि कारबाहीको माग गरेकी छन्।
घटनाको खबर फैलिएपछि सयौँको संख्यामा पीडितका आफन्त र स्थानीयले सिरुटार विरुवा क्षेत्रमा दिनभर प्रदर्शन गरे। प्रदर्शनले सो क्षेत्र तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट, घटनास्थलको प्रमाण र सिसिटिभी फुटेजका आधारमा मृत्युको कारण पत्ता लगाउने प्रक्रिया अघि बढेको छ। सुधार केन्द्रका सञ्चालक र कर्मचारीको भूमिकाबारे पनि सूक्ष्म अनुसन्धान भइरहेको छ।
पीडितका आफन्त सरोज खड्गीका अनुसार सुधार केन्द्रले अस्वाभाविक मृत्यु स्वीकार गरेको छ। केन्द्रमै भएको प्रारम्भिक वार्तामा सुधार केन्द्र हटाउने र पीडित पक्षलाई क्षतिपूर्ति दिनेबारे मौखिक सहमति भएको उनले बताए। थप वार्ताका लागि सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बैठक बोलाइएको छ।
खड्गीको शव हाल पोस्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल दुवाकोटमा छ। लिखित र औपचारिक सहमति नभएसम्म शव नउठाउने अडान पीडित पक्षले लिएको छ।
