धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव चुलिएपछि जिल्ला प्रशासन र प्रहरीले डिलरमाथि छड्के अनुगमन थालेका छन्। केही दिनयता बजारमा ग्यासको चरम संकट देखिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेको नेतृत्वमा प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीसहितको टोलीले अनुगमन गरेको हो। अनुगमनका क्रममा डिलरमा ग्यास मौज्दात न्यून भेटिएको छ। डिलर सञ्चालकहरूले कम्पनीबाटै आवश्यकताअनुसार ग्यास आपूर्ति नभएको सहायक प्रजिअ न्यौपानेलाई जानकारी दिए।
ग्यास अभावको हल्लाले उपभोक्ताले बढी सिलिन्डर सञ्चित गर्दा बजारमा संकट थपिएको पाइएको छ। यसलाई मध्यनजर गर्दै प्रशासनले एक परिवारलाई एक पटकमा एक सिलिन्डर मात्र बिक्री गर्न निर्देशन दिएको छ।
ग्यास पुनः डिलरमा आएपछि प्रशासनलाई जानकारी गराउनुपर्नेछ। प्राप्त ग्यासको विवरण बुझाउन र उपभोक्तालाई समानुपातिक वितरण गर्न पनि निर्देशन दिइएको छ।
डिलरबाट सहजै ग्यास नपाएपछि उपभोक्ता महँगो मूल्यमा खुद्रा पसलबाट किन्न बाध्य भएका छन्। यसपछि प्रशासनले आधिकारिक डिलरबाट मात्र ग्यास बिक्री गर्न निर्देशन दिएको हो। स्थानीय प्रशासनले बजारमा ग्यास आपूर्ति र वितरणको अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
डिलर सञ्चालकहरूका अनुसार कम्पनीबाट कम परिमाणमा ग्यास आउने र आएको ग्यासले सबै उपभोक्ताको माग धान्न नसक्दा समस्या भएको हो। कोसी ग्यास डिलर गुठीटारका सञ्चालक लेखबहादुर राईले कम्पनीले पठाएको परिमाणअनुसार ग्यास बिक्री गरिरहेको बताए।
रिजाल ग्यासका बिक्रेता अधिकारी ट्रेडर्स देब्रेबासका सञ्चालक होमप्रसाद अधिकारीले कम्पनीबाटै मागअनुसार ग्यास नआएकाले समस्या भएको बताए। कम परिमाणमा ग्यास आउने र उपभोक्ताको माग बढी हुँदा सबैलाई पुर्याउन कठिन भएको उनको भनाइ छ।
