NM Khabar 8 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकारको कर हेरफेर: कांग्रेस नेता केसीद्वारा ‘निरंकुश प्रवृत्तिको द्योतक’ भन्दै कडा आपत्ति

सरकारले संसदबाट पारित आर्थिक विधेयकमा गरेको कर हेरफेरप्रति कांग्रेस नेता अर्जुननरसिंह केसीले कडा आपत्ति जनाएका छन्। केसीले यसलाई संसदीय मर्यादा उल्लंघन, कार्यपालिकाको स्वेच्छाचारिता र निरंकुश प्रवृत्तिको संज्ञा दिएका छन्। उनले सरकारलाई गल्ती स्वीकार गरी विधेयकलाई औपचारिक संशोधन गरी संसदमा पेश गर्न माग गरेका छन्।
Arjun Basnet
Arjun Basnet
7 June 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
कर हेरफेर आपत्ति
Share:

संसदबाट पारित भइसकेको आर्थिक विधेयकमा सरकारले आफूखुसी करका दर हेरफेर गरेको भन्दै कांग्रेस नेता अर्जुननरसिंह केसीले कडा आपत्ति जनाएका छन्। अर्थमन्त्रीले ‘त्रुटि सुधार’ भन्दै पत्र पठाएर कर परिवर्तन गर्नु विधायिकालाई छलेर कार्यपालिकाको स्वेच्छाचारिताको खतरनाक नजिर भएको उनको टिप्पणी छ।

केसीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो संसदीय नियमावली, मर्यादा र विश्वव्यापी प्रचलनको स्पष्ट उल्लंघन हो। यो सार्वभौम संसद्को विशेषाधिकारमाथिको नांगो हस्तक्षेप हो।’ भारत, बेलायतजस्ता परिपक्व लोकतन्त्रमा प्रस्तुत विधेयकलाई कार्यकारी दबाबमा बाइपास गर्ने प्रचलन नभएको उनको भनाइ छ। यो खुल्लमखुल्ला स्वेच्छाचारिता र संसदीय परम्पराप्रतिको घोर अपमान हो।

उनका अनुसार, राजनीतिक दबाबमा विधेयक दर्ता गर्नु संस्थागत निरीहता हो। यो संसदीय ‘लोकतन्त्रको हत्या र बहुमतको अहंकार’ पनि हो।

‘बजेटजस्तो संवेदनशील विषयमा सरकारले नियम मिचेर ‘कमा–फुलस्टप’ खेल्न पाउने हो भने संसद् केको लागि ?’ केसीले प्रश्न गरेका छन्।

यो कदम निरंकुश प्रवृत्तिको स्पष्ट द्योतक भएको र यसले संसद्को उपहास मात्र नगरेको, लोकतन्त्रको आत्मालाई नै घायल बनाएको उनको ठहर छ।

देश निर्वाचित अधिनायकवादतर्फ उन्मुख भएको संकेत देखिँदै गएको भन्दै केसीले यो प्रक्रिया तत्काल रोक्नुपर्ने माग गरेका छन्।

सरकारसँग बहुमत रहेकाले गल्ती स्वीकार गरी विधेयकलाई औपचारिक संशोधनसहित संसदमा पेश गर्नु नै सम्मानजनक बाटो हुने उनले बताए। अन्यथा संविधान, संसदीय प्रणाली र लोकतान्त्रिक पद्धति केवल मुखौटा साबित हुने चेतावनी उनले दिएका छन्।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार