भ्रष्टाचार मुद्दामा दोषी ठहर भई सजाय तोकिएका पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेल बस्नु नपर्ने भएको छ। विशेष अदालतले ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा प्रयोग गरी उनलाई सजायबाट उन्मुक्ति दिएको हो।
सर्वोच्च अदालतले २०८१ साउन १३ गते जोशीलाई नौ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना तोकेको थियो। तर, ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा माग गर्दै उनले असार २४ गते विशेष अदालतमा निवेदन दिएका थिए।
शुक्रबार न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा सुनुवाइ भएको उक्त निवेदनमाथि बहुमतका आधारमा जोशीको पक्षमा आदेश आयो। न्यायाधीश पौडेल र कोइरालाले कारागारमा नबसे पनि कैद छुटको सुविधा पाउन सकिने राय दिएका थिए।
यसअघि २०६९ साउन १० गते विशेष अदालतले जोशीलाई एक वर्ष ६ महिना कैद र दुई करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ ४१ पैसा जरिवाना सुनाएको थियो। १२ वर्षपछि सर्वोच्चले कैद र जरिवाना दुवै घटाएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा उनी यसअघि नै तीन महिना १७ दिन थुनामा बसिसकेका थिए।
