बाजुरा र हुम्लाको सीमा विवादित क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त स्थायी बेस क्याम्प स्थापना गर्ने तयारी भइरहेको छ। सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा यो जानकारी दिएका हुन्।
पौडेलका अनुसार संयुक्त स्थायी बेस स्थापनाको योजना तयार गरी सम्बन्धित निकायमा पेस गरिएको छ। सुरक्षा चौकी स्थापना विषयमा विवाद उत्पन्न भएको थियो। तनाव नियन्त्रणमा आए पनि दीर्घकालीन समाधानका लागि प्राविधिक सीमाङ्कन, घटनाको अनुसन्धान र स्थानीय जनभावना सम्बोधनमा जोड दिनुपर्ने पौडेलले बताए।
सो क्षेत्र संवेदनशील र रणनीतिक महत्वको छ। यो बहुमूल्य जडीबुटी उत्पादन तथा ओसारपसारको प्रमुख मार्ग हो। बाजुरा र हुम्लाका बासिन्दाले सो क्षेत्रमा पहुँच राख्न खोज्दा विवाद हुने गरेको छ। विवाद समाधानको मुख्य आधार प्राविधिक तथा भौगोलिक सीमाङ्कन हो। केन्द्र सरकारले गठन गरेको समितिले ठोस निर्णय गर्नेछ।
पौडेलले भने, ‘यो क्षेत्र विवादित हो। सुरक्षा चौकी स्थापना विषयसँग सम्बन्धित छ। यो संवेदनशील क्षेत्र हो, महत्वपूर्ण आवागमन मार्गमा पर्छ। जडीबुटी उत्पादन र ओसारपसार हुने भएकाले दुवै जिल्लाका स्थानीयको पहुँच र उपयोगमा विगतदेखि मनमुटाव र विवाद छ। प्रदेश सरकारले सुरक्षा चौकी स्थापनाको निर्णय गरेपछि द्वन्द्व सिर्जना भयो।’
उनले थपे, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली खटिएको छ। टोलीले अस्थायी बेस स्थापना गरी गस्ती गरिरहेको छ। सुरक्षा अवस्था सामान्य र नियन्त्रणमा छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त स्थायी बेस स्थापना गर्न योजना तयार गरी पेस गरिएको छ। प्राविधिक तथा सीमाङ्कन पक्ष प्रमुख हो। यसको दीर्घकालीन समाधानका लागि सीमाङ्कन स्पष्ट हुनु अत्यावश्यक छ।’
विवादस्थल बाजुराको सदरमुकामबाट १०० किलोमिटरभन्दा बढी टाढा छ। विकट भौगोलिक अवस्था रहेको सो क्षेत्रमा पुग्न ८० किलोमिटर कच्ची सडकमा ८–९ घण्टा सवारी यात्रा गर्नुपर्छ। त्यसपछि थप १२–१३ घण्टा पैदल हिँड्नुपर्छ। हाल दुवै सुरक्षा निकायको टोलीले अस्थायी बेस स्थापना गरी गस्ती गरिरहेकाले सुरक्षा अवस्था सामान्य छ।
