काठमाडौं । विश्वप्रसिद्ध हस्पिटालिटी कम्पनी म्यारियट इन्टरनेशनल र नेपालको बहुराष्ट्रिय व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) ले काठमाडौंमा ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ सञ्चालन गर्ने सम्झौता गरेका छन्। दुई नयाँ अल्ट्रा लग्जरी होटल निर्माण गर्ने यो सम्झौताले नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
यी प्रिमियम ब्रान्डका होटलहरू सन् २०३१ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य छ। यस सम्झौताले म्यारियटको नेपालस्थित पोर्टफोलियोमा करिब ३०० नयाँ ‘की’ थप्नेछ। यससँगै म्यारियटका विश्व प्रसिद्ध लक्जरी ब्रान्डहरूको नेपालमा औपचारिक प्रवेश हुनेछ।
उच्चस्तरीय र खर्चालु पर्यटकलाई लक्षित यी होटलहरूमा चौधरी ग्रुप (सीजी) को मुख्य साझेदारी छ। आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एन्ड कम्पनीको पनि महत्त्वपूर्ण साझेदारी रहनेछ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरी सहभागी थिए। म्यारियट इन्टरनेशनलका एसिया प्रशान्त अध्यक्ष राजीव मेनन र दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट पनि उपस्थित थिए।
अर्थतन्त्र र पर्यटनमा योगदानको अपेक्षा
म्यारियट इन्टरनेशनलका एसिया प्रशान्त अध्यक्ष राजीव मेननले नेपाली बजारमा विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्न चौधरी ग्रुपसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे। ‘यी परियोजनाहरूले म्यारियट इन्टरनेशनलका लक्जरी ब्रान्डहरूको उत्कृष्टता झल्काउँछन्,’ मेननले भने, ‘यसले पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना तथा क्षेत्रीय आर्थिक विकासमा योगदान पुर्याउनेछ।’
सीजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले यो सम्झौता नेपाल एवं दक्षिण एसियाको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने यात्राको नयाँ अध्याय भएको बताए। ‘हामी स्थानीय संस्कृति झल्काउने, रोजगारी सिर्जना गर्ने तथा पर्यटक र समुदायलाई उत्कृष्ट अनुभव प्रदान गर्ने गन्तव्यहरू निर्माण गर्नेछौँ,’ उनले भने।
‘द रिट्ज-कार्लटन, काठमाडौँ’
नेपालमा पहिलोपटक आउने ‘द रिट्ज–कार्लटन’ ठमेलमा सञ्चालन हुनेछ। यस होटलमा ३० वटा सुइटसहित १५० वटा रुम रहनेछन्। पाँच रेस्टुरेन्ट तथा बार, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर र ‘द रिट्ज–कार्लटन स्पा’ उपलब्ध हुनेछ। व्यावसायिक कार्यक्रमका लागि ११०० वर्ग मिटरभन्दा बढी क्षेत्रफलमा हल निर्माण गरिनेछ।
‘द वेस्टिन काठमाडौँ’
पर्यटकको स्वास्थ्य तथा सन्तुलित जीवनशैलीलाई प्राथमिकता दिने ‘वेस्टिन’ ब्रान्डको यस होटलमा १५० वटा प्रिमियम रुम तथा सुइटहरू रहनेछन्। यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलोमिटर टाढा अवस्थित हुनेछ। होटलमा तीन डाइनिङ स्थल, वेस्टिनवर्कआउट फिटनेस स्टुडियो, हेभेन्ली स्पा बाई वेस्टिन र रुफटप स्विमिङ पुल रहनेछ। ७०० वर्ग मिटरभन्दा बढीको बैठक तथा बैंक्वेट सुविधा पनि हुनेछ।
म्यारियट र सीजीको विश्वव्यापी साझेदारी
यो सम्झौता म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटीबिच विश्वभर विस्तार हुँदै गएको सहकार्यको कडी हो। दुई वर्षभन्दा कम अवधिमा भारतमा मात्रै ‘सिरिज बाई म्यारियट’ अन्तर्गत ७५ भन्दा बढी होटलको सम्झौता भएको छ।
सीजीले फिलिपिन्समा ‘द फार्म एट सान बेनिटो, अटोग्राफ कलेक्सन’ सञ्चालन गरेको छ। दुबई आइल्यान्ड्समा ‘जेडब्लु म्यारियट ब्रान्डेड रेसिडेन्स’ र भारतको सिलिगुडीमा ‘जेडब्लु म्यारियट होटल’ को निर्माण पनि यही साझेदारीअन्तर्गत छ।
म्यारियट र सीजी कम्पनी
अमेरिकाको मेरील्यान्डमा मुख्यालय रहेको म्यारियट इन्टरनेशनल विश्वकै अग्रणी हस्पिटालिटी कम्पनी हो। यसका १४६ देशमा ९,९०० भन्दा बढी होटल सञ्चालनमा छन्।
नेपालको बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपको हस्पिटालिटी शाखा सीजी हस्पिटालिटी विश्वका १२ देशका १३० गन्तव्यमा फैलिएको छ। यसअन्तर्गत २२० भन्दा बढी होटल तथा रिसोर्ट र १३,८३५ भन्दा बढी कोठाहरू सञ्चालनमा छन्।
सीजीले सन् २०३० सम्ममा आफ्नो पोर्टफोलियो ६०० होटल र ३० हजार ‘की’ पुर्याउने लक्ष्य राखेको छ।
