धनुषा, महोत्तरी र सर्लाहीमा गत आर्थिक वर्ष २०८२/८३ मा १२ वटा विद्यालय भवन निर्माण सम्पन्न भएका छन्। सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका अनुसार सर्लाहीमा सात, धनुषामा एक र महोत्तरीमा एक विद्यालय भवन बनेका हुन्। प्रत्येक जिल्लामा एक/एक वटा सामुदायिक भवन निर्माण भएका छन्। महोत्तरीमा एक स्वास्थ्य भवन र आपतकालीन आश्रयस्थल बनेको छ। सर्लाहीमा दुई आपतकालीन आश्रयस्थल निर्माण सम्पन्न भएका छन्।
सडक पूर्वाधारतर्फ महोत्तरी जिल्लामा सबैभन्दा बढी प्रगति देखिएको छ। सडकको आधारभूत तह निर्माणमा धनुषामा २३,१८६ मिटर, महोत्तरीमा ८,७४७ मिटर र सर्लाहीमा ७०० मिटर काम भएको छ। कालोपत्र सडक निर्माणमा धनुषामा ३,५९० मिटर, महोत्तरीमा ८,५८३ मिटर र सर्लाहीमा ४,०२८ मिटर सडक कालोपत्र गरिएको छ। सडक ढलानतर्फ धनुषामा ३३९ मिटर, महोत्तरीमा १,३४७ मिटर र सर्लाहीमा १,४११ मिटर निर्माण भएको छ।
नाला निर्माणमा धनुषामा ५,३०५ मिटर, महोत्तरीमा १,५९० मिटर र सर्लाहीमा ४१० मिटर काम सम्पन्न भएको छ। ‘कम्पाउन्ड वाल’ निर्माणतर्फ धनुषामा १३४ मिटर, महोत्तरीमा १६६ मिटर र सर्लाहीमा ७०० मिटर काम भएको छ। महोत्तरीमा १९६ मिटर इन्टरलक रोड सम्पन्न भएको छ। धनुषामा १५० मिटर पोखरीघाट निर्माण गरिएको छ। धनुषा र सर्लाहीमा दुई/दुई वटा तथा महोत्तरीमा एक वटा कल्भर्ट निर्माण भएका छन्।
भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोद सिंहले निरन्तर अनुगमन र समयमै बजेट कार्यान्वयन भएकाले अधिकांश कार्य निर्धारित समयमा सम्पन्न भएको बताए। बाँकी काम पनि तोकिएको समयभित्र सम्पन्न गर्ने योजना छ। सडक, नाला, कल्भर्ट र सार्वजनिक भवन निर्माण समयमै सम्पन्न हुँदा आवागमन, शिक्षा, स्वास्थ्य र सामुदायिक सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा स्थानीयवासीले गरेका छन्।
