सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानी र सोताङ गाउँपालिका–४ का वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेका छन्। निरन्तरको वर्षाले निम्त्याएको पहिरोले दुई वडा कार्यालयका संरचनासहित आसपासका बस्तीसमेत धरापमा पारेको छ। हालसम्म ११ घरपरिवार विस्थापित भइसकेका छन्।
सोलुदूधकुण्ड नगरपालिका–३ को वडा कार्यालय भवन गत शनिबार राति गएको पहिरोका कारण जोखिममा परेको हो। प्रमुख जिल्ला अधिकारी कमानसिं थापामगरका अनुसार वडा कार्यालयभन्दा माथिबाट विस्तार गरिएको सडक क्षेत्रमा पहिरो जाँदा शौचालय बगाएको छ। प्रशासनिक भवनसमेत उच्च जोखिममा छ। वडाध्यक्ष ल्हाक्पागेलु शेर्पाले माथिल्लो भिरबाट ठूलो पहिरो खसेको बताए। पहिरोले सडकसहित संरचनामा क्षति पुर्याएको छ।
“पहिरो निकै ठूलो भएकाले तत्काल रोकथाम गर्न सकिने अवस्था छैन”, शेर्पाले भने। पहिरो थप बढेमा वडा कार्यालय भवनसँगै स्वास्थ्यचौकीसमेत प्रभावित हुनसक्ने उनले बताए। माथिल्लो क्षेत्रबाट पहिरो निरन्तर खसिरहेकाले भूभाग थप जोखिमपूर्ण बन्दै गएको छ।
सोताङ गाउँपालिका–४ को वडा कार्यालय भवन पनि पहिरोको उच्च जोखिममा छ। पहिरोले वडा कार्यालय परिसरको पर्खाल बगाएको छ। वडाध्यक्ष दीपबहादुर राईले भवन र कर्मचारी आवाससमेत जोखिममा रहेको बताए। पहिरो निरन्तर बढ्दै गएकाले भवनसमेत तान्न सक्ने अवस्था छ। वडा कार्यालयभन्दा तल रहेका पाँच घरपरिवार विस्थापित भएका छन्। उनीहरू सुरक्षित स्थानमा पाल टाँगेर बसिरहेका छन्।
“पहिरो बढ्दै गएको छ। वडा कार्यालय त जोखिममा छ नै, यसले बस्तीसमेत धरापमा पारेको छ”, वडाध्यक्ष राईले भने। “झरी निरन्तर छ। जमिन पहिरोले थिलथिलो भएको छ। कुन बेला के घटना हुने हो थाहा छैन।”
यसैबिच थुलुङ दूधकोशी गाउँपालिका–९ मा पाँच घरपरिवार पहिरोका कारण विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीका अनुसार घर जोखिममा परेपछि उनीहरूलाई विद्यालय भवनमा स्थानान्तरण गरिएको छ। लिखुपिके गाउँपालिका–३ चौलाखर्कमा पनि एक घरपरिवार विस्थापित भएको छ। उक्त परिवारलाई पनि विद्यालय भवनमा सारिएको छ।
जिल्लाका विभिन्न क्षेत्रमा पहिरोका कारण हालसम्म ११ घरपरिवार विस्थापित भएका छन्। विस्थापितलाई जोखिमयुक्त घरमा बस्न नदिई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। निरन्तर वर्षाका कारण ग्रामीण सडक, सरकारी संरचना तथा बस्ती आसपासका क्षेत्रमा पहिरोको जोखिम बढेको छ। भिरालो भूभागमा सडक विस्तार गरिएका क्षेत्र तथा पुरानो पहिरो रहेका क्षेत्रमा थप सतर्कता आवश्यक छ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले जोखिमयुक्त बस्ती तथा संरचनाको अवस्थाबारे निगरानी गरिरहेका छन्। वर्षा निरन्तर भइरहेकाले पहिरोको जोखिम तत्काल घट्ने अवस्था नरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। जिल्ला विपद् व्यवस्थापन समितिले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
