सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकको मुख्य कार्यसूची आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्नु हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यससँगै बजेटमाथिको छलफल सुरु हुनेछ। उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन्।
अर्थ मन्त्रालयसँग सम्बन्धित विभिन्न विधेयकहरू पनि आजै सदनमा प्रस्तुत गरिनेछन्। अर्थमन्त्री वाग्लेले ‘विनियोजन विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ सदनमा पेस गर्नेछन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज अधिकारीले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नम्बर ८१)’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९’ सदनमा पेस गर्नेछन्। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले यो जानकारी दिएका छन्।
यस्तै, आज राष्ट्रिय सभाअन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछन्।
