पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले कटान गरिरहेको क्षेत्रको स्थलगत अवलोकनपछि लुम्बिनी प्रदेश सरकारले सहयोगको प्रतिबद्धता जनाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार सुस्ता पुगेर कटान क्षेत्रको निरीक्षण गरेका हुन्।
मुख्यमन्त्री आचार्यले कटान रोकथामका लागि प्रदेश सरकारले विपद् व्यवस्थापन कोषमार्फत सहयोग गर्ने बताए। उनले अस्थायी बाँध निर्माणका लागि आवश्यक तारजाली र बोरालगायतका सामग्री उपलब्ध गराइने जानकारी दिए।
सो अवसरमा मुख्यमन्त्री आचार्यले तटबन्ध निर्माण गरिरहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवनका इन्जिनियर बेलबहादुर विश्वकर्मालाई प्रदेश सरकारको तर्फबाट सहयोगको आश्वासन दिए।
सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवलले नदी कटानबाट सुस्ताको भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी दिनरात खटिएको बताए।
