कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूभाग हो, यसमा नेपालको अडान सधैं कायमै रहनेछ। परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा यो स्पष्ट पारे। कैलाश मानसरोवरको तीर्थयात्राका लागि नेपाल प्रमुख ट्रान्जिट मार्ग बन्दै आएको उनले उल्लेख गरे।
मन्त्री खनालले नेपालको सहमतिविना भारत र चीनबीच सीमासम्बन्धी सम्झौता हुन नसक्नेमा आफूहरू स्पष्ट रहेको बताए। उनले नेपालले यो विषयमा दुवै छिमेकी मुलुकलाई कूटनीतिक नोटमार्फत औपचारिक रूपमा जानकारी गराइसकेको र विगतदेखि नै ती क्षेत्रलाई आफ्नो भूभाग मान्दै आएको स्पष्ट पारे।
नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खनालले आफू नयाँ पुस्ताको नेतृत्वको प्रतिनिधित्व गर्ने र विगतका गल्ती र अलमलबाट टाढा रहेको बताए। उनले नागरिकले दिएको जनादेश सुशासन, योग्यता प्रणाली र प्रत्यक्ष जवाफदेहितामा आधारित रहेको उल्लेख गरे।
उनले नेपाल र भारतबीचको सम्बन्ध भौगोलिक र सांस्कृतिक निकटतामा मात्र नभई साझा भविष्यको निर्माणमा आधारित रहेको बताए। उनले भारत सरकारले देखाएको सद्भाव र आतिथ्यका लागि आभार व्यक्त गरे।
