NM KHABAR
मुख्य समाचार

सुहाङ नेम्वाङले किन पाएनन् समर्थक ? रामबहादुर थापा बादल निर्विरोध हुँदा एमालेमा तरंग

नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध हुँदा युवा नेता सुहाङ नेम्वाङले उम्मेदवारी दिनसमेत पाएनन्। यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र दास मनोवृत्तिलाई छर्लङ्ग पारेको छ।
Nmkhabar 2 April 2026, 2:23 am २ मिनेटको पढाइ
Text:
विज्ञापन Sponsor

एमालेमा लोकतन्त्रको ‘हाइज्याक’: सुहाङलाई रोक्न सिङ्गो संयन्त्र परिचालन, पार्टीभित्रै तीव्र असन्तुष्टि

काठमाडौं । जेनजी आन्दोलन र त्यसपछिको चुनावमा ऐतिहासिक पराजय भोगेको नेकपा एमालेले हारबाट पाठ सिक्नुको साटो पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप संकुचित बनाएको छ। बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा संसदीय दलको नेता चयनका क्रममा देखिएको दृश्यले नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान त्रासदी र ‘दास मनोवृत्ति’ लाई छर्लङ्ग पारेको छ।

पार्टी नेतृत्वको योजनाविरुद्ध युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका थिए। तर, उनले एउटा प्रस्तावक र समर्थक पनि पाउन सकेनन्। टिकट र अवसर गुम्ने डरले ग्रसित सांसदहरू नेतृत्वको दबाब सामु निरीह बन्दा माओवादी पृष्ठभूमिबाट आएका रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भए।

शीर्ष नेताहरूकै सार्वजनिक आपत्ति 

प्रतिस्पर्धाद्वारा श्रेष्ठ बन्ने सिद्धान्त बोकेको एमालेमा चुनाव नजितेकालाई नेता मान्ने तर युवालाई रोक्ने प्रवृत्ति देखिएपछि पार्टीभित्रैबाट तीव्र आलोचना सुरु भएको छ। पार्टी सचिव योगेश भट्टराईले सार्वजनिक रूपमै असन्तुष्टि पोख्दै भनेका छन्, “निर्वाचनबाट पार्टीलाई गम्भीर धक्का लागेको बेला संसदीय दलको नेता छान्न जुन शैली अपनाइयो, यसले सिंगो पार्टीपङ्क्तिलाई चिन्तित बनाएको छ। सांसदहरूलाई दबाबमा राखेर जे गरियो, यो राम्रो भएन।”

त्यसैगरी, बौद्धिक नेता सुरेन्द्र पाण्डेले पनि यस घटनालाई लोकतान्त्रिक पार्टीका लागि लज्जास्पद विषय भनेका छन्। उनले नेतृत्व ‘म नै पार्टी र पार्टी नै म’ भन्ने भ्रममा बाँचेको र पार्टीलाई ‘निजी क्लब’ बनाउन खोजिएको भन्दै कडा टिप्पणी गरेका छन्।

‘ड्र्यागन रोपेर उपियाँ फलाउने’ नियति

 एमालेभित्र अहिले समाजशास्त्री रोबर्ट मिचेल्सको ‘आईरन ल अफ अलिगार्की’ (संगठन अन्ततः सानो समूहको नियन्त्रणमा पुग्ने सिद्धान्त) ठ्याक्कै लागु भएको विश्लेषकहरू बताउँछन्। कार्यकर्ताहरू भित्रभित्रै नेतृत्वको निर्णय गलत छ भन्ने जान्दाजान्दै पनि सार्वजनिक रूपमा स्तुतिगान गाउन विवश छन्।

कार्ल मार्क्सका सहकर्मी फ्रेडरिख एंगेल्सले अवसरवादी अनुयायीहरूलाई लक्षित गर्दै भनेका थिए— ‘मैले ड्र्यागनहरू रोपेको थिएँ र उपियाँ फलाएँ।’ आज एमालेको नियति पनि त्यस्तै देखिएको छ। वैचारिक सङ्घर्ष र लोकतान्त्रीकरणको एजेन्डा बोकेको एमाले आज आलोचनात्मक चेत गुमाएर ‘उपियाँ’ जस्ता निरीह अनुयायीहरूको भिडमा परिणत हुँदै गएको छ।

सुहाङको विद्रोह: अन्धकारमा एउटा झिल्को 

९ सिटमा खुम्चिँदा पनि एमाले नेतृत्वले समाजको पदचाप सुन्न चाहेको छैन। तर, यस्तो चरम निराशा र नियन्त्रणको बीचमा पनि सुहाङ नेम्वाङले देखाएको साहसलाई युवा पुस्ताले अर्थपूर्ण रूपमा लिएका छन्। प्रस्तावक र समर्थक नपाए पनि उनले पार्टीलाई विधि र प्रक्रिया सम्झाएका छन्। उनको यो कदमले पार्टीलाई ‘उपियाँ’ हरूको झुन्डबाट जोगाएर साँचो अर्थमा ‘ड्र्यागन’ बनाउन पुस्तान्तरण अपरिहार्य छ भन्ने स्पष्ट सन्देश दिएको छ।

Nmkhabar

सम्वाददाता

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार